११ असोज, काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। हालैको अभिभावक बैठकमा उनको राजीनामाको जानकारी गराइएको हो।
जेनजी आन्दोलनका क्रममा स्कुलमा तोडफोड र आगजनी भई भौतिक संरचना पूर्णरूपमा क्षति पुगेपछि राणाले पदबाट राजीनामा दिएको जनाइएको छ।
काठमाडौं र ललितपुर दुवै युलेन्स क्याम्पसको अध्यक्ष पदबाट उनले हात झिकेकी हुन्।
अभिभावक स्रोतका अनुसार युलेन्स स्कुल नयाँ योजनासहित पुनः सञ्चालनको तयारीमा छ। आगामी दिनमा अभिभावकबाटै ट्रष्टी छनोट गरी स्कुलको सञ्चालन अघि बढाउने प्रक्रिया सुरु हुने भएको छ।
युलेन्स स्कुलले जारी गरेको विज्ञप्तिमा डा. राणाको संलग्नता शिक्षा ऐनअनुसार साबिकको जिल्ला शिक्षा कार्यालयले गरिएको व्यवस्थापन समितिको नियुक्तिका आधारमा भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “उनको भूमिकालाई नाफामुखी व्यवसायसँग जोडेर गरिएको प्रचार भ्रामक र तथ्यहीन हो। विद्यालय सामुदायिक शिक्षाको मापदण्डअनुसार नै सञ्चालित हुँदै आएको थियो।”
विज्ञप्तिमा युलेन्स स्कुललाई ‘नाफा कमाउने व्यवसाय’को रूपमा दुष्प्रचार गरिएको कारणले अफवाहको सिकार भएको समेत उल्लेख गरिएको छ।
हाल युलेन्स स्कुलले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिरहेको छ भने दशैंपछि कक्षा १० देखि १२ र आइबी तहका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय व्यवस्थापनमा देखिएको अव्यवस्था र आन्दोलनपछि उठेका प्रश्नहरूका बीच डा. राणाको राजीनामा र विद्यालयको नयाँ रोडम्यापले युलेन्सको भविष्य कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ।















