२६ असोज, काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिलाई नै भंग गरेर महाधिवेशनमा जानुपर्ने आवाज सशक्त बनेको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने क्रममा यो मागले प्रवेश पाएको हो । नेताहरूले अहिलेको संकट सामना गर्न वर्तमान कार्यसमिति असक्षम रहेको ठहर गर्दै विशेष नभई नियमित महाधिवेशनको मिति तत्काल तोक्न देउवालाई दबाब दिएका छन् ।
स–सम्मान बिदाइ गरी तदर्थ समिति बनाउन केसीको माग
पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको शुक्रबारको बैठकमा नेता बलबहादुर केसीले केन्द्रीय कार्यसमिति भंग गर्ने प्रस्ताव अघि सार्नुभयो । केसीको भनाइ थियो, “वर्तमान कार्यसमितिले अहिलेको चुनौती समाधान गर्न नसक्ने भएकाले वडा तहदेखि केन्द्रसम्मका सबै कार्यसमिति भंग गर्ने, सबै भ्रातृ संगठन भंग गरेर सबैलाई स–सम्मान बिदाइ गरी उद्देश्य र समयावधि निर्धारण गरेर सबै पुस्तालाई समेटेर नयाँ तदर्थ समिति निर्माण गर्नुपर्छ।”
केसीले पार्टी र मुलुक संकटमा रहेका बेला वर्तमान नेतृत्वले पर्फमेन्स देखाउन नसकेकाले कार्यसमिति भंग गर्न माग गरेको बताउनुभयो ।
देउवाले विघटन गरेर कार्यवाहक तोक्नुपर्नेमा डा. कोइरालाको माग
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले त देउवालाई सार्वजनिक रूपमै वर्तमान कार्यसमिति विघटन गर्न र कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न सुझाव दिनुभएको छ । शनिबार पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले मंसिरभित्र पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले महाधिवेशनको मिति तय गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताउनुभयो ।
यस्तै माग राख्दै युवा नेता रञ्जित कर्णले पनि ‘नेपाली कांग्रेसको अबको बाटो’ शीर्षकमा धारणा सार्वजनिक गर्दै मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके केन्द्रीय कार्यसमिति भंग गर्नुपर्ने नारा अघि सार्नुभएको छ।
अधिकांश नेताहरूले देउवाको नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने निचोड निकाल्दै तत्काल राजीनामा दिएर महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।















