२५ पुष, काठमाडौं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि ज्यान गुमाएकी एक सुत्केरीको शव तीन दिनदेखि अस्पतालमै अलपत्र परेको छ ।
गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको बुधबार साँझ मृत्यु भएको भए पनि अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति हुन नसक्दा शुक्रबारसम्म शव उठ्न नसकेको हो । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै परिवारले उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग राखेर शव बुझ्न अस्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार राधिकाको शव अहिले प्रादेशिक अस्पतालकै शव गृहमा राखिएको छ । बुधबार दिउँसो शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था एक्कासि जटिल बनेपछि उपचारकै क्रममा साँझ ५ बजे मृत्यु भएको थियो । नवजात शिशु भने जीवित र स्वस्थ रहे पनि आमाको मृत्युको कारणलाई लिएर उत्पन्न विवादले अस्पताल तनावग्रस्त बनेको छ ।
पीडित पक्ष र अस्पताल प्रशासनबीच पटक–पटक वार्ता भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन। मृतकका आफन्तहरूले अस्पतालले सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् । अस्पताल प्रशासनले भने उपचारमा कुनै कसर बाँकी नराखिएको दाबी गर्दै आएको छ । दुई पक्षबीचको संवादहीनता र अडानका कारण मृतकको अन्तिम संस्कार समेत रोकिएपछि घटना थप पेचिलो बन्दै गएको छ ।















