२५ पुष, काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको गोप्य कागजात दुरुपयोग गरी डिजिटल वालेट ‘इसेवा’ मार्फत करोडौँको अवैध कारोबार गर्ने एक १९ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपालिका–७ बस्ने क्रमिक उप्रेतीले वाइड–स्पेस इन्टरनेसनल प्रालि नामक कम्पनीको स्थायी लेखा नम्बर लगायतका कागजातहरू अनधिकृत रूपमा प्रयोग गरी शङ्कास्पद आर्थिक गतिविधि सञ्चालन गरेको प्रहरीले फेला पारेको हो । उनले ती कागजातको आधारमा इसेवामा मर्चेन्ट र व्यक्तिगत वालेटहरू खोली सट्टेबाजी लगायतका गैरकानुनी काममा प्रयोग गरिरहेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उप्रेतीको चलाखीपूर्ण ठगीको जालो उजागर गरेको छ । प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार उप्रेतीले प्रयोग गरेको मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार भन्दा बढी र व्यक्तिगत वालेटबाट ५६ लाख ३१ हजार भन्दा बढी गरी कुल १ करोड १२ लाख रुपैयाँभन्दा धेरैको अवैध कारोबार भएको पुष्टि भएको छ । पक्राउ परेका किशोरको साथबाट अपराधमा प्रयोग गरिएको एउटा ल्यापटप, दुई थान मोबाइल र विभिन्न कम्पनीका २० थान सिमकार्डहरू समेत बरामद गरिएको छ ।
डिजिटल माध्यमबाट ठुलो रकमको अवैध कारोबार गरेको अभियोगमा उप्रेतीमाथि अहिले बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ । १९ वर्षकै उमेरमा प्रविधिको दुरुपयोग गरी करोडौँको अवैध आर्थिक साम्राज्य खडा गर्ने उनको यो शैलीले साइबर सुरक्षा र डिजिटल पहिचान चोरीको बढ्दो जोखिमलाई पुनः सतहमा ल्याइदिएको छ ।















