Logo

२७ पौष, वीरगञ्ज । पर्सा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक शक्ति विस्तार गरेको छ । शनिबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, सुशासन पार्टीलगायत विभिन्न दल परित्याग गरी सयौँ नेताकार्यकर्ता रास्वपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा जसपा नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चौरसिया, पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ, पूर्व वडाध्यक्ष महादेव चौरसिया, कांग्रेस नेता प्रसाद शिवशंकर चौरसिया, नरेन्द्र राय तिवारी, राजेन्द्र प्रसाद चौरसिया, राजु प्रसाद पटेल, राप्रपाका ललन ठाकुर र सुशासन पार्टीका लक्ष्मण महतोसहितका प्रभावशाली व्यक्तित्वहरू निःशर्त रास्वपामा प्रवेश गरेका छन् ।

त्यसैगरी कालिकामाई गाउँपालिका वडा नं. २ का एमाले नेता मनमोहन प्रसाद चौरसिया, राजेश साह, अकलेश कुशवाहा, बृजमान सहनी, रामकलश सहनी, महेश प्रसाद चौरसिया, श्याम राउत गद्दी, अनिल कुमार चौरसियासहित जेनजी समूहका राजनिश चौरसिया, कृष्णा कुशवाहा, बिरेन्द्र प्रसाद साह, विजय कुमार चौरसिया, अविनाश चौरसिया र चन्देश्वर महतो कोइरी पनि रास्वपामा आबद्ध भएका छन् । वडा नं. ५ बाट कांग्रेसका हिरो राउत कुर्मी, छविलाल प्रसाद राउत, राजु प्रसाद पटेल तथा जसपा नेपालका रमेश प्रसाद पटेल, छबिलाल राउत र शम्भु प्रसाद चौहानलगायतको पनि पार्टी प्रवेश भएको छ ।

नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, जिल्ला उपसभापति तुल्सा पौडेल र नेता टेकबहादुर शाक्यले अबिर–टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले यस प्रवेश कार्यक्रमले पर्सा क्षेत्र नं. ४ मा रास्वपाको संगठनात्मक शक्ति उल्लेखनीय रूपमा बढेको दाबी गरे। उनले आगामी फागुनमा हुने निर्वाचनमा रास्वपाका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे ।

क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य रहेको जानकारी दिँदै भारी मतले विजयी गराउन अपिल गरे । मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्ण पासवानले सहजीकरण गरेका थिए ।


सम्बन्धित समाचार
भर्खरै