Logo

२७ पौष, वीरगञ्ज । आधुनिक नेपालका निर्माता मानिने तत्कालीन गोर्खाली राजा पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज आइतबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन बाइसे चौबीसे राज्यहरूमा छरिएको भूगोललाई एकीकृत गरी बलियो राष्ट्र निर्माण गरेको श्रेय शाहलाई दिने गरिन्छ ।

दिवसको अवसरमा आज काठमाडौँको सिंहदरबारस्थित पश्चिम मूल ढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पण तथा विशेष समारोहको आयोजना गरिँदैछ । सरकारले आजका दिन देशभर सार्वजनिक बिदा दिएको छ ।

वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको जेठो छोराको रूपमा जन्मिएका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा बनेका थिए । उनले १८२५ सालमा इन्द्रजात्राका दिन काठमाडौँमाथि विजय प्राप्त गरी एकीकृत नेपालको राजधानी घोषणा गरेका थिए ।

उनको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म फैलिँदा नेपालको सिमाना पूर्वमा टिष्टादेखि पश्चिममा सतलज नदीसम्म पुगेको थियो । उनका ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’ र ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ जस्ता दिव्य उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् । ५२ वर्षको अल्पायुमै १८२५ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा उनको निधन भएको थियो ।

पूर्वराजाको सन्देश: “नेताको भाषणले देश बन्दैन”

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शनिबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान संकटप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले करिब दुई दशकअघि शान्ति, स्थायित्व र आर्थिक प्रगतिको जनअपेक्षालाई सम्मान गर्दै आफू सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएको स्मरण गरे ।

“नारायणहिटीबाट बाहिरिएको दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ,” पूर्वराजाले भनेका छन्, “अहिले देश नै नरहने हो कि भन्ने निराशा पैदा भएको छ।” उनले नेताहरूको भाषण र जादुले मात्र देश बन्न नसक्ने टिप्पणी गर्दै सबै नेपालीलाई ‘पृथ्वीपथ’मा लाग्न र कर्तव्यबोध गर्न आह्वान गरेका छन् । उनले यो मुलुक राजा र जनता दुवैको समान स्वामित्वको साझा देश भएको सन्देश समेत दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै