Logo

२९ पौष, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका-१ गम्हरीयामा चिसो मौसमको मार खेपिरहेका वृद्धवृद्धा, अपाङ्ग, साधुसन्त र सीमान्तकृत समुदायका सय जना असहायलाई न्यानो कम्बल वितरण गरिएको छ । सामाजिक अभियन्ता रामाकान्त अग्रवालको पूर्ण आर्थिक सहयोग र उपकार सेवा नेपालको सहकार्यमा आयोजित कार्यक्रममा ती कम्बलहरू हस्तान्तरण गरिएको हो ।

जाडोका कारण कमजोर वर्गको स्वास्थ्य र सुरक्षामा असर पर्न नदिन उदेश्यले यो सहयोग गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले बताइन् । उनका अनुसार समाजका विपन्न तथा असहाय वर्गलाई न्यानोपन दिनु संस्थाको सामाजिक कर्तव्य हो र यस्ता मानवीय कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।

कम्बल वितरण कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष रामशरण खवास, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, रामाकान्त अग्रवालका प्रतिनिधि रेनु सर्राफ र नेहा सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारु, सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र खड्का र प्रहरी सहायक निरीक्षक अवधलाल साहलगायतको उपस्थिति रहेको थियो । उनीहरूले संयुक्त रूपमा वृद्धवृद्धा, अपाङ्ग, एकल महिला र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई कम्बल हस्तान्तरण गरेका थिए ।

वडा अध्यक्ष खवासले उपकार सेवा नेपालले यसअघि पनि वडामा आगलागी पीडित, विपन्न परिवार र मठमन्दिरहरूलाई सहयोग गर्दै आएको स्मरण गराए । संस्थाले अपाङ्गता भएका चार जनालाई ह्वीलचेयरसमेत प्रदान गरिसकेको जानकारी उनले दिए ।

चिसो बढ्दै गएको अवस्थामा प्राप्त न्यानो कम्बलले स्थानीय आर्थिक रुपले कमजोर रहेका समुदायलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ । सामाजिक अभियन्ता प्रकाश थारुले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने भन्दै सबैलाई सहयोगी हात अघि बढाउन आह्वान गरे ।


सम्बन्धित समाचार