३० पौष, काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ मा रहेको नेपाल एसबीआई बैंकको शाखामा गएराति एक नकाबधारी समूहले हतियार देखाएर ठुलो परिमाणमा नगद लुटपाट गरेको छ । करिब ७ जनाको सङ्ख्यामा आएको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार लुटेराहरूले बैंकका सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएर बाँधेका थिए । लुटेराको आक्रमणबाट सुरक्षागार्ड कार्की घाइते भएका छन् ।
जङ्गलमा भेटियो लुटिएको आधाभन्दा बढी रकम
लुटपाटपछि फरार भएकाहरूको खोजीमा स्थानीय बासिन्दा र प्रहरीले सक्रियता देखाएका थिए । त्यसक्रममा लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ नजिकैको जङ्गलमा फेला परेको छ। लुटेराहरूले प्रहरी र स्थानीयको पिछा परेपछि रकम छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ । बाँकी १ करोड ३० लाखभन्दा बढी रकम भने अझै फेला परेको छैन।
प्रहरीले लुटपाटमा प्रयोग गरिएको बा १ ज ०३९८ नम्बरको टाटा सुमो जिप र त्यसका चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ । लुटेराहरूले उक्त गाडी बनेपाबाट रिजर्भ गरेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लुटपाटमा संलग्न मुख्य व्यक्तिहरू हालसम्म पक्राउ परेका छैनन् । उनीहरू पहाडी र जङ्गलको बाटो हुँदै फरार भएको हुनसक्ने आशंकामा सिन्धुली र छिमेकी जिल्लाका सबै नाकाहरूमा कडा सुरक्षा जाँच भइरहेको एसपी सुवेदीले जानकारी दिए । “हामीले चालक र गाडी नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान गरिरहेका छौँ, लुटेराहरूको नजिक पुगिसकेका छौँ,” सुवेदीले भने ।
यो पनि :
सिन्धुलीमा एसबीआई बैंक लुटपाट: गाडीसहित चालक नियन्त्रणमा, नकाबधारी समूह फरार















