३० पुष, काठमाडौं । नेपालको वित्तीय बजारमा लगानीयोग्य रकम (तरलता) थुप्रिने क्रम नरोकिएपछि वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर पुनः घटाएका छन् ।
कर्जाको माग सुस्त रहेको वर्तमान अवस्थामा बैंकहरूले लागत व्यवस्थापन गर्न ब्याजदर कटौतीको बाटो रोजेका हुन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको माघ महिनाको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पुसको तुलनामा ० दशमलव १४९५ प्रतिशत विन्दुले ओरालो लागेर ४ दशमलव ६८४५ प्रतिशतमा खुम्चिएको छ । राष्ट्र बैंकले बजारमा रहेको अधिक पैसा खिच्न विभिन्न वित्तीय उपकरण प्रयोग गरिरहे तापनि बैंकहरूमा थुप्रिएको रकमले गर्दा निक्षेपकर्ताले पाउने प्रतिफलमा लगातार गिरावट आइरहेको छ ।
ब्याजदर हेरफेर गर्ने क्रममा यसपटक अधिकांश बैंकहरू आक्रामक देखिएका छन् । सञ्चालनमा रहेका २० बैंकमध्ये कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज र सिद्धार्थ लगायतका ११ वटा बैंकले माघका लागि ब्याजदर घटाउने निर्णय गरेका छन् । त्यस्तै, नबिल, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकसहित ८ वटा बैंकले भने पुसकै दरलाई निरन्तरता दिँदै ब्याजदर स्थिर राखेका छन् ।
यसैबीच, प्राइम कमर्सियल बैंकले भने बजारको विपरीत झिनो अंकले ब्याजदर वृद्धि गरेको छ। हालको नयाँ तालिका अनुसार ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ५ दशमलव ५ प्रतिशत ब्याजदर दिने प्रस्ताव गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर सबैभन्दा न्यून ४ दशमलव ३६ प्रतिशतमा झरेको छ।
निक्षेपको ब्याजदरमा आएको यो गिरावटले अन्ततः ऋण लिने ऋणीहरूलाई भने राहत पुग्ने देखिएको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घट्दा बैंकहरूको आधार दरमा समेत कमी आउने र यसले नयाँ तथा पुराना कर्जाको ब्याजदरलाई सस्तो बनाउने निश्चित छ ।
बैंकहरूले छोटो अवधिको तुलनामा दीर्घकालीन निक्षेपलाई केही बढी महत्त्व दिए पनि समग्रमा बजार सस्तो ब्याजदरको दिशामा अघि बढेको छ । पर्याप्त पुँजी भएर पनि उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुन नसक्दा बैंकहरूले निक्षेप निरुत्साहित गर्न खोजेको विश्लेषण गरिएको छ ।















