३० पौष, काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको लुटपाटमा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मंगलबार राति भएको उक्त लुटपाटको घटनालगत्तै परिचालन भएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घ्याङलेख-१ सुकाचुरीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले चार जना पक्राउ परेको पुष्टि गर्दै उनीहरूको परिचय र थप विवरण सङ्कलन भइरहेको जानकारी दिए । “हामीले स्थानीयको सक्रिय सहयोगमा चार जनालाई पक्राउ गर्न सफल भएका छौँ, उनीहरूमाथि थप अनुसन्धान र सोधपुछ भइरहेको छ,” एसपी सुवेदीले भने ।
पाँच/छ जनाको समूहमा रहेका नकाबधारी लुटेराहरूले बैंकबाट कुल ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । लुटपाटलगत्तै प्रहरी र स्थानीयले गरेको खोजीका क्रममा विभिन्न स्थानबाट १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । बाँकी १ करोड ३० लाखभन्दा बढी रकम र फरार रहेका अन्य सदस्यहरूको खोजीका लागि प्रहरीले अपरेसन जारी राखेको छ ।
मंगलबार राति नकाबधारी समूहले हायुटार शाखाका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर हतियार देखाउँदै बैंकको ढुकुटी रित्याएका थिए । लुटेराहरूले बनेपाबाट रिजर्भ गरेर ल्याएको बा १ ज ०३९८ नम्बरको टाटा सुमो प्रयोग गरेको खुलेपछि प्रहरीले त्यसका चालकलाई यसअघि नै नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका आरोपीहरूबाट बरामद भएको रकम र उनीहरूको बयानका आधारमा लुटिएको बाँकी रकम पनि छिट्टै फेला पर्ने विश्वास प्रहरीले लिएको छ । घाइते भएका सुरक्षागार्डको उपचार भइरहेको छ भने बैंकको सुरक्षा व्यवस्था र अन्य प्राविधिक पक्षबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो पनि :
सिन्धुलीमा एसबीआई बैंक लुटपाट: ३ करोडभन्दा बढी लुटियो, जङ्गलमा फेला पर्यो १ करोड ८० लाख
सिन्धुलीमा एसबीआई बैंक लुटपाट: गाडीसहित चालक नियन्त्रणमा, नकाबधारी समूह फरार















