३० पुष, काठमाडौं । सिन्धुलीको खुर्कोटमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चलाएको खानतलासी अभियानका क्रममा ठूलो परिमाणमा अवैध अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोमा सवार युवराज नेवारलाई ५७ हजार अमेरिकी डलर (नेपाली करिब ८२ लाख रुपैयाँ) सहित प्रहरीले नियन्त्रणमा लिएको हो । गोलन्जोर गाउँपालिका–७ को माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा नेवारले बोकेको कालो झोलाभित्र १०० का ५७० वटा नोट फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेका नेवारको साथबाट डलरका अतिरिक्त नेपाली १२ हजार रुपैयाँ समेत बरामद गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान र संलग्नताको गहिराइ बुझ्नका लागि सुमो चालक विक्रम लिम्बूलाई समेत नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ । सिन्धुलीकै घ्याङलेकस्थित नेपाल एसबीआई बैंकमा मंगलबार राति लुटपाटको प्रयास भएपछि प्रहरीले राजमार्गमा विशेष सुरक्षा सतर्कता र कडाइ गरेको थियो । सोही उच्च सुरक्षा निगरानीकै क्रममा यो अवैध विदेशी मुद्रा बरामद भएको हो ।
बरामद गरिएको विदेशी मुद्राको स्रोत नखुलेकाले यो रकम हुन्डी वा अन्य कुनै गैरकानुनी गतिविधिमा संलग्न हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नियन्त्रणमा लिइएका व्यक्ति र बरामद रकमलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भइरहेको छ । राजमार्गमा सुरक्षा निगरानी बढाइएसँगै प्रहरीले अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गरिने जनाएको छ ।













