३० पुष, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्समा नक्कली सवारी दुर्घटनाको कागजात पेस गरी बीमा दाबी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक प्रहरी हवलदारसहित ३१ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
प्रहरीको मिलेमतोमा काल्पनिक दुर्घटना खडा गरेर ८१ लाख रुपैयाँ हत्याएको निष्कर्ष निकाल्दै उनीहरूलाई मुलुकी अपराध संहिताको दफा २७६ बमोजिम किर्ते कसुरमा प्रतिवादी बनाइएको हो । पक्राउ परेकामध्ये मुख्य योजनाकार मानिएका हरि बुढाथोकीले प्रहरी वृत्त नयाँ बानेश्वरको लेटर प्याड र प्रहरी निरीक्षक श्याम खनालको नक्कली हस्ताक्षर प्रयोग गरी किर्ते कागजात तयार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले यस प्रकरणमा नयाँ बानेश्वर वृत्तमा कार्यरत हवलदार ध्रुव शाहीसहित सुसन घिमिरे, मनोज कुमार आचार्य र गंगा महर्जन लगायत ३१ जनालाई विपक्षी बनाएर अभियोग पत्र दर्ता गरेको छ । गत पुस १ गते जडीबुटी क्षेत्रबाट पक्राउ परेका पर्साका बुढाथोकीको साथबाट प्रहरीले विभिन्न किर्ते चलानी नम्बर भएका पत्रहरू र उपचार खर्च मिलापत्रका नक्कली कागजातहरू बरामद गरेको थियो । ती कागजातहरू बीमा रकम दाबी गर्नकै लागि सरकारी छाप र दस्तखत दुरुपयोग गरी बनाइएको बुढाथोकीले बयानका क्रममा स्वीकार गरेका छन् ।
बीमा कम्पनीलाई झुक्याएर मोटो रकम असुल गर्ने यो गिरोहले सवारी दुर्घटना नै नभएको अवस्थामा पनि प्रहरी प्रतिवेदन र सहमति पत्रको नक्कली प्रतिलिपि तयार पार्ने गरेको पाइएको छ । प्रहरीले यस संगठित किर्ते काण्डमा अन्य व्यक्तिको संलग्नताबारे पनि खोजी गरिरहेको छ । सरकारी निकायका जिम्मेवार कर्मचारी र प्रहरीकै समेत नाम जोडिएर आएपछि यो ठगी प्रकरणले अहिले ठूलो चर्चा पाएको छ भने बीमा क्षेत्रको सुरक्षा र नियमनमा समेत प्रश्न उठाएको छ ।














