Logo

१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टीको नयाँ सभापतिमा निर्वाचित भएका छन् । बिहीबार मध्यराति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न मतगणनाको परिणाम सार्वजनिक भएलगत्तै थापा विजयी घोषित भएका हुन् ।

निर्वाचित भएपछि महाधिवेशन स्थलमा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति थापाले आफूले पार्टीको गरिमा र शानलाई उच्च राख्ने प्रतिबद्धता जनाएका छन् । उनले कांग्रेसको गौरवशाली इतिहासलाई थप उचाइमा पुर्‍याउने संकल्प समेत गरे ।

आफ्नो संक्षिप्त सम्बोधनका क्रममा भावुक देखिएका थापाले भने, “नेपाली कांग्रेसको सभापतिको नाम लिँदा मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ। यो सानो जिम्मेवारी होइन। म इमानदारीपूर्वक भन्छु-जुन विश्वासका साथ तपाईंहरूले यो जिम्मेवारी सुम्पिनुभएको छ, म कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्नेछु ।”

उनले मुलुक र पार्टी दुवै कठिन मोडमा रहेको बेला विशेष महाधिवेशन गर्नुपरेको प्रष्ट पारे। “हामी कसैको पनि यो रहर थिएन, यो एउटा बाध्यता थियो,” थापाले थपे, “यो जोखिम हामीले उठाउनै पर्थ्यो। मैले भन्दा पनि धेरै जोखिम तल बस्ने साथीहरू (तल्लो तहका कार्यकर्ता) ले उठाउनुभएको छ।”

लामो समयको रस्साकस्सी र आन्तरिक राजनीतिक दबाबका बीच सम्पन्न यस विशेष महाधिवेशनले कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व स्थापित गरेको छ । थापाको विजयलाई कांग्रेस राजनीतिमा ‘पुस्तान्तरण’ र ‘वैचारिक पुनर्जागरण’ को रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार