१ माघ, काठमाडौं । सुनसरीको भोक्राहानर्सिङ-८ स्थित सोनियाहीमा आज बिहानै भएको एक ट्रक दुर्घटनाले सिंगो बर्जु गाउँपालिकालाई शोकमा डुबाएको छ।
विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्गको घुम्तीमा अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार पाँच जना मजदुरको दर्दनाक मृत्यु भएको हो । बिहान करिब साढे ५ बजे भएको यस दुर्घटनामा ट्रकको पछाडि सामानमाथि बसेका मजदुरहरू टायल र मार्बलले थिचिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ज्यान गुमाउने सबै मजदुरहरू सुनसरीको बर्जु गाउँपालिका(१ का बासिन्दा हुन् । मृत्यु हुनेहरूमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन् । प्रहरी प्रवक्ता चन्द्र खड्काका अनुसार गम्भीर रूपमा थिचिएका कारण उनीहरूको घटनास्थलमै ज्यान गएको थियो ।
ट्रकमा चालकसहित कुल ९ जना सवार रहेकोमा अगाडि क्याबिनमा बसेका ४ मध्ये ३ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ भने दुर्घटनालगत्तै चालक फरार भएका छन् । प्रहरीले अहिले फरार चालकको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ । माघेसङ्क्रान्तिको बिहानै भएको यस त्रासदीपूर्ण घटनाले स्थानीय क्षेत्रमा सन्नाटा छाएको छ ।















