Logo

२ माघ, काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले आज देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । आगामी माघ ६ गते हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयनलाई लक्षित गरी आयोगले आजैदेखि कार्यालय सञ्चालनमा ल्याउन लागेको हो ।

आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउनेछन् । उम्मेदवारी मनोनयन दर्ता हुनुभन्दा पूर्व नै सम्बन्धित क्षेत्रमा आवश्यक प्रशासनिक तयारी पूरा गर्न र कर्मचारी खटाउन आयोग जुटेको हो ।

आयोगले निर्वाचन व्यवस्थापनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ । जसअनुसार प्रत्येक जिल्लामा एक जनाका दरले ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई बाँकी ८८ निर्वाचन क्षेत्रको कमान्ड सम्हाल्ने गरी निर्वाचन अधिकृतका रूपमा खटाइएको छ ।

न्याय परिषद्सँगको आवश्यक परामर्श र समन्वयमा आयोगले यी अधिकृतहरूको नाम अन्तिम टुङ्गो लगाएको हो। प्रत्येक मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा-एउटा निर्वाचन क्षेत्रको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी तोकिएको छ ।

माघ ६ गते हुने उम्मेदवारी मनोनयनका लागि आज स्थापना हुने कार्यालयहरूले नै दर्ता, छानबिन र दाबी विरोध लगायतका सबै कानुनी प्रक्रियाहरू सम्पादन गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै सम्बन्धित निर्वाचन क्षेत्रहरूमा चुनावी सरगर्मी र सुरक्षा सतर्कता समेत बढाइएको छ ।


सम्बन्धित समाचार
भर्खरै