१० माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका हुन्।
स्थानीयसँगको अन्तरक्रियामा शाहले तेह्रथुमलाई कागज वा पुस्तकमा सीमित भएर होइन, प्रत्यक्ष अनुभव गरेर बुझ्न चाहेको बताएका छन्। “तेह्रथुमको बारेमा विकिपिडिया वा किताबबाट पढ्न सकिन्छ, तर यहाँ आएर यहीको हावापानीमा भिजेर, यहीको माटोमा बसेर र यहीका मान्छे भेटेर मात्र त्यो ठाउँ कस्तो रहेछ भन्ने थाहा हुन्छ,” उनले भने, “भोलि तेह्रथुमका समस्या संसद्मा उठाउँदा आफूले प्रत्यक्ष अनुभव गरेको हुनुपर्छ भनेर यहाँ आएको हुँ।”
शाहले रास्वपाका नेतृत्व र उम्मेदवारहरू इन्जिनियरिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै व्यवहारिक र स्थानीयस्तरमै समाधान गर्न सकिने कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। “ठूला–ठूला कुरा गर्नेभन्दा पनि गर्न सकिने काममा केन्द्रित हुनुपर्छ,” उनले भने, “तेह्रथुममा कृषि उत्पादन राम्रो भए पनि बजारको समस्या मुख्य चुनौतीका रूपमा देखिएको छ।”
तेह्रथुममा आयोजित भेटघाट कार्यक्रममा रास्वपाका स्थानीय उम्मेदवार सुरेन्द्र कार्की पनि सहभागी थिए। कार्यक्रममा स्थानीय बासिन्दाले कृषि, रोजगारी, सडक र बजार व्यवस्थापनलगायतका समस्या उठाएका थिए।
झापा–५ बाट उम्मेदवारी दिएका शाह हाल पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन्। यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गरिसकेका छन्।
















