१२ माघ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको ‘करेक्सन’ देखिएको छ ।
अघिल्लो दिन ५७ अङ्कले उकालो लागेको बजार सोमबार भने ३ दशमलव ०७ अङ्कले घटेर २७६९ दशमलव ०९ विन्दुमा थामिएको हो । सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकमले भने बजारमा उत्साहजनक पुनरागमनको सङ्केत गरेको छ । चुनावी माहोलसँगै लगानीकर्ताहरू बजारमा सक्रिय हुन थालेपछि सोमबार कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब साढे दुई अर्ब रुपैयाँले बढी हो । कारोबारमा देखिएको यो उछालले बजारको आगामी यात्रा सकारात्मक रहने अपेक्षामा लगानीकर्ताहरू ढुक्क देखिन्छन् ।
सोमबारको बजारमा तीव्र उतारचढावका बीच ३३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएका छन् । समूहगत परिसूचकतर्फ बैंकिङ, विकास बैंक, वित्त, बिमा र लघुवित्त लगायतका अधिकांश उपसमूह राताम्मे देखिए पनि होटल, जलविद्युत् र उत्पादनमूलक समूहमा भने आकर्षण देखिएको छ । विशेष गरी होटल समूहमा १२७ दशमलव ६८ अङ्कको बढोत्तरी हुँदा उत्पादनमूलक र जलविद्युत् क्षेत्रले पनि बजारलाई थाम्न सहयोग पुर्याएका थिए । सोमबार १६५ कम्पनीको सेयर मूल्य घट्दा ८८ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
परिसूचक घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उच्च नाफा कमाएका छन् । एसवाई प्यानल, हिमस्टार, सान्भी पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । १ लाख ४७ हजारभन्दा बढी पटकको कारोबारबाट निस्किएको १६ अर्ब ३५ करोडको उच्च कारोबारले बजारमा पर्याप्त तरलता र लगानीकर्ताको उच्च मनोबल रहेको पुष्टि गर्दछ । लगानीकर्ताहरूले सामान्य गिरावटलाई ुप्रोफिट बुकिङुका रूपमा लिँदै नयाँ लगानीका लागि अवसरका रूपमा प्रयोग गरिरहेको विश्लेषण गरिएको छ ।
















