Logo

१४ माघ, काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यले अहिलेसम्मका सबै कीर्तिमान भंग गर्दै नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा एकैदिन प्रतितोला ९ हजार ५०० रुपैयाँको भारी वृद्धि भएपछि छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

मंगलबार प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार आकाशिएर ३ लाख १९ हजार रुपैयाँको विन्दु नजिक पुगेको छ । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३२० रुपैयाँ कायम भएको छ। सुनसँगै चाँदीको भाउमा पनि उच्च वृद्धि देखिएको छ ।

अघिल्लो दिन प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४३० रुपैयाँले बढेर ७ हजार ३०० रुपैयाँको नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तारचढावका कारण नेपाली बजारमा सुनचाँदीको भाउले दैनिक नयाँ रेकर्ड बनाउन थालेको व्यवसायीहरूको भनाइ छ ।


सम्बन्धित समाचार