Logo

२० माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले भोलि (बुधबार)देखि नेपाली सेना परिचालन गर्ने भएको छ । एक महिनाअघिदेखि नै सुरक्षा घेरा कडा बनाउने सरकारी योजनाअनुसार मुलुकभर सेना खटिन लागेको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार बुधबारदेखि नेपाली सेना फिल्डमा परिचालित हुनेछ । निर्वाचन सुरक्षाका लागि मात्रै नेपाली सेनाका ७९ हजार ७२७ जना फौज परिचालन गर्ने निर्णय सरकारले गरिसकेको छ ।

सेनाले हाल सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका सार्वजनिक भवन, कारागार तथा अन्य संवेदनशील स्थानमा समेत सुरक्षा जिम्मेवारी सम्हाल्नेछ । आवश्यकताअनुसार गस्ती, पेट्रोलिङ तथा संवेदनशील क्षेत्र र मतदानस्थल केन्द्रित संयुक्त सुरक्षा गतिविधि सञ्चालन गरिने बताइएको छ।

गत कात्तिकमा राजनीतिक दलहरूले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति आवश्यक भएको सर्त उठाएपछि निर्वाचन आयोगले चारै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरेको थियो । त्यसैअनुसार उच्चस्तरीय सुरक्षा समितिको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमै सेना परिचालनका लागि स्वीकृति दिएका थिए ।

निर्वाचन सुरक्षालाई व्यवस्थित बनाउन ९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पारित भएपछि सुरक्षा तयारीले गति लिएको हो ।

गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी कूल ३ लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाली सेनाबाट ७९ हजार ७२७ जना, नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जना खटिनेछन् । साथै, प्रहरी मातहत एक लाख ३० हजार ९८० र सशस्त्र प्रहरी मातहत १५ हजार ११० निर्वाचन प्रहरी परिचालन गरिनेछ, जसको तालिमसमेत सुरु भइसकेको छ। निर्वाचन सुरक्षामा १ हजार ९२१ गुप्तचर पनि सक्रिय रहनेछन् ।

सरकारले व्यापक सुरक्षा व्यवस्थासँगै शान्त, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्ने तयारी तीव्र पारेको छ ।


सम्बन्धित समाचार