काठमाडौँ– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा पछिल्लो समय देखिएको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ ।
साताको चौथो कारोबार दिन नेप्से सूचक १ दशमलव ६४ अंकले ओरालो लाग्दै २६८१ दशमलव ५० बिन्दुमा ओर्लिएको छ । अघिल्लो दिन मंगलबार १२ अंकले घटेको बजारमा बुधबार सामान्य गिरावट देखिए पनि कारोबार अवधिभर सूचकमा उतारचढाव कायमै रहेको थियो । नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ० दशमलव ७० अंकले घटेको छ ।
समग्र बजार घटे पनि बुधबार केही कम्पनीका लगानीकर्ताहरूले भने उल्लेख्य नाफा कमाएका छन्। विशेष गरी जलविद्युत् र पर्यटन क्षेत्रका चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक ‘सर्किट’ लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीहरूमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत् रहेका छन्। कारोबार भएकामध्ये १ सय १३ कम्पनीको मूल्य बढ्दा १ सय ३४ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।
कारोबार रकमका हिसाबले बुधबार बजारमा केही संकुचन देखिएको छ । ३ सय २६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर ७ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ, जुन मंगलबारको साढे ८ अर्बको तुलनामा कम हो । समूहगत रूपमा हेर्दा बैंकिङ, जीवन बीमा र उत्पादनमूलक समूहका परिसूचक घटेका छन् भने विकास बैंक, वित्त, होटल र जलविद्युत् समूहमा भने हरियाली देखिएको छ ।
















