Logo

२२ माघ, वीरगञ्ज । आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू आ-आफ्नो एजेन्डासहित घरदैलो र युवा भेलामा केन्द्रित भएका छन् । विकास, सुशासन, रोजगारी र सामाजिक न्यायलाई मुख्य मुद्दा बनाउँदै उम्मेदवारहरूले मतदाता रिझाउने कसरत तीव्र पारेका हुन् ।

नेकपा एमालेका उम्मेदवार प्रदीप यादवको पक्षमा ‘जेन-जी’ युवा तथा विद्यार्थीहरूले साझा प्रतिबद्धता जनाएका छन् । वीरगञ्जमा आयोजित एक भेलामा युवाहरूले यादवलाई ‘सुख-दुःखको साथी’ र विकासमुखी नेताको रूपमा चित्रण गरे । वीरगञ्जका मेयर राजेशमान सिंहको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा युवा किरण गुप्ताले सडक निर्माण लगायतका पूर्वाधार विकासमा यादवको भूमिका प्रशंसनीय रहेको बताए ।

उम्मेदवार यादवले आफू चुनावका बेला मात्र देखिने ‘मौसमी नेता’ नभएको दाबी गर्दै खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार आफ्नो प्राथमिकता रहेको बताए । उनले भने, “युवाहरूको आवाजलाई नीति निर्माणको केन्द्रमा राख्ने मेरो संकल्प छ।”

नयाँ शक्ति र सुशासनको नारा: हरि पन्त र ओमप्रकाश सरार्फ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले वीरगञ्ज भन्सार क्षेत्रमा भव्य स्वागत पाएका छन् । पुराना दलहरूको विकल्पमा रास्वपा आएको दाबी गर्दै पन्तले ३५ वर्षसम्म देश चलाउनेहरूलाई उनीहरूको उपलब्धिबारे प्रश्न गर्न मतदातालाई आग्रह गरे । “जेन-जी आन्दोलनको उपहास नगर्न र सुशासनका लागि घन्टीमा मतदान गर्न मेरो अनुरोध छ,” उनले भने ।

यता, जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज औद्योगिक नगरी भएर पनि युवाहरू बेरोजगारीको चपेटामा परेकोमा चिन्ता व्यक्त गरे । उनले ‘हरघर रोजगारी’ को अवधारणा अघि सार्दै सीपमूलक तालिम र महिला आत्मनिर्भरताका लागि विशेष रोडम्याप प्रस्तुत गरेका छन् । उनले ‘हर्न’ चुनाव चिह्नमार्फत मधेशको संरचनात्मक समस्या समाधान गर्ने दाबी गरे ।

घरदैलोमा पराग सिंह र सीए अजय चौरसीया

उज्यालो नेपाल पार्टीका राम किशोर सिंह (पराग) ले ‘सिंहदरबार गाउँमै’ भन्ने नाराका साथ घरदैलो गरिरहेका छन् । वडाध्यक्षको अनुभवलाई संसद्मा पुर्‍याउने दाबी गर्दै उनले प्रत्येक वडामा जनगुनासो सुन्ने सचिवालय स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सीए अजय चौरसीयाले वीरगञ्ज-३१ बेलवामा पुगेर भ्रष्टाचारमुक्त प्रशासन र डिजिटल शिक्षाको एजेन्डा सुनाए । अर्थविद्को छवि बनाएका चौरसीयाले कृषिमा आधुनिकीकरण र सरकारी सेवालाई ‘फास्ट ट्र्याक’ मा लैजाने योजना अघि सारेका छन् ।

दलित समुदायको साथमा अनिल रुङटा

नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको समर्थनमा नेपाल दलित संघ पर्साले अभियान सुरु गरेको छ । कांग्रेसका पूर्व सभापति अजय कुमार द्विवेदी र कार्यवाहक सभापति रामनारायण कुर्मीको उपस्थितिमा भएको भेलामा रुङटाले दलित समुदायको हकअधिकार र समावेशी विकासलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताए । दलित समुदायले रुङटालाई लोकतन्त्र सुदृढीकरणका लागि योग्य उम्मेदवारका रूपमा समर्थन गर्ने घोषणा गरेका छन् ।


सम्बन्धित समाचार