Logo

२२ माघ, वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सीए अजय चौरसियाले देशको दुर्गति हुनुको मुख्य कारण पैसाको अभाव नभई हिसाब नबुझ्ने नेतृत्व भएको बताएका छन् ।

फागुन २१ गते हुने निर्वाचनको सिलसिलामा आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा आयोजित चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले यस्तो धारणा राखेका हुन् ।

घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार चौरसियाले सरकारी अस्पतालको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरे । “गरीबले उपचार नपाएर पीडा सहनुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ। सरकारी अस्पताललाई सक्षम, व्यवस्थित र उत्तरदायी बनाउनु मेरो पहिलो प्राथमिकता हो,” उनले भने, “जहाँ सरकारी अस्पताल बलियो हुन्छ, त्यहाँ समाज समान हुन्छ। अब उपचार पैसाको आधारमा होइन, बिरामीको आवश्यकताका आधारमा हुनुपर्छ।”

चौरसियाले सार्वजनिक यातायातको सुधारलाई विकासको मेरुदण्डको रूपमा अर्थ्याए । उनका अनुसार जहाँ यातायात सेवा कमजोर हुन्छ, त्यहाँ शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू स्वतः खुम्चिन्छन्। “जनताको यात्रा सहज बनाउनु एक सांसदको पहिलो कर्तव्य हो । म पर्सा-१ को भविष्य सम्झौतामा होइन, साहसी निर्णयमा निर्माण गर्न आएको हुँ,” उनले थपे।

कार्यक्रममा चौरसियाले नेपाली राजनीतिमा ‘कमरेड’ र ‘जनकमान्डर’ को अर्थ बुझाउँदै वर्तमान व्यवस्था सहिदहरूको रगतले लेखिएको स्मरण गरे । उनले भने : “आज मधेसको छोराले सिंहदरबार ढकढक्याउन पाउनु र किसानको छोरो राष्ट्र प्रमुख बन्न सक्ने अवस्था आउनु कुनै उपहार होइन । यो त कारागारको अँध्यारो र सहिदको बलिदानबाट प्राप्त उपलब्धि हो । हामी व्यवस्था भत्काएर न्याय स्थापना गर्न उठेका हौँ।”

चौरसियाले आफूलाई ‘श्रीमान्’ वा ‘माननीय’ भन्दा पनि ‘कमरेड’ भनिनुमा गर्व महसुस हुने बताए । उनका अनुसार कमरेड शब्द सत्ताको चाकडी नभई अन्यायविरुद्ध लड्ने एउटा चेतना हो ।

आगामी निर्वाचनका लागि ‘तारा चिन्ह’ लिएर चुनावी मैदानमा होमिएका चौरसियाले आफू खोक्रो वाचा गर्न नभई ठोस परिवर्तन दिन आएको दाबी गरे । उनले सामन्ती सोचलाई परास्त गर्दै न्यायपूर्ण समाज निर्माणका लागि साहसी भएर मतदान गर्न पर्सा-१ का मतदाताहरूलाई आग्रह गरे ।

घरदैलो कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।


सम्बन्धित समाचार
भर्खरै