Logo

२३ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा क्षेत्र नं. २ का उम्मेदवार तथा युवा नेता सुशील साह कानुले पर्सागढी नगरपालिका वडा नं. ४ भेडहा टोलमा मतदाता भेटघाट गर्दै स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन् । शुक्रबार बिहान सम्पन्न कार्यक्रममा उनले चोकचोक र घरआँगनमै पुगेर मतदाताका कुरा सुनेका हुन् ।

भेटघाटका क्रममा कानुले समसामयिक राजनीतिक अवस्था, विकास निर्माणको गति, रोजगारीको अभाव, सुशासन र युवाको राजनीतिमा भूमिकालगायत विषयमा खुलेर छलफल गरे । स्थानीय बासिन्दाले पनि आफ्नो दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझाव उम्मेदवारसमक्ष राख्दै सक्रिय सहभागिता जनाएका थिए ।

विशेषगरी युवाहरूले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, स्थानीय पूर्वाधार सुधार र पारदर्शी शासनको आवश्यकता औंल्याउँदै नयाँ सोच र नेतृत्वको खोजी भइरहेको बताएका थिए । जवाफमा कानुले जनताको आवाजलाई नीति र कार्यक्रमको केन्द्रमा राखेर जनमुखी र उत्तरदायी राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानीय नेताकार्यकर्ता, युवा र सर्वसाधारणको उपस्थिति थियो । यस्ता प्रत्यक्ष संवादले मतदाता र उम्मेदवारबीच भरोसाको सम्बन्ध बलियो बनाएको कानुका समर्थकले बताएका छन् । उम्मेदवार कानुले आगामी दिनमा पनि क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाटलाई निरन्तरता दिने योजना रहेको बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै