Logo

२४ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भएको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को संज्ञा दिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त सहकार्यमा कुनै ठोस राजनीतिक एजेण्डा नभएको दाबी गरे । सापकोटाका अनुसार दुई पक्षबीच भएको १० बुँदे सहमति प्राविधिक विषयमा सीमित रहेको र त्यसले दीर्घकालीन राजनीतिक दिशा निर्देश नगर्ने बताए ।

“अहिले जो रास्वपा र बालेनबीच एकता भएको छ, विचार गर्नुहोला,यिनीहरूको न सिद्धान्त छ, न विचार, न दृष्टिकोण, न एजेण्डा। सहमतिका १० वटा बुँदामा प्राविधिक कुरा मात्रै छन्,” उनले भने ।

नेता सापकोटाले घण्टी बजाउने प्रतीक र ‘स्टन्ट’ का आधारमा जनतालाई लामो समय भ्रमित पार्न नसकिने दाबी गरे। नेपाली जनता अब राजनीतिक रूपमा परिपक्व भइसकेकाले यस्ता गतिविधिबाट प्रभावित नहुने उनको भनाइ थियो ।

नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि रहस्यमयी तथा शक्तिशाली तागत सक्रिय रहेको आरोप समेत उनले लगाए। यद्यपि जनताले वास्तविक राजनीतिक शक्ति पहिचान गरिसकेको उनको दाबी थियो ।

सिन्धुपाल्चोक जिल्ला आफ्नो पार्टीको बलियो आधार क्षेत्र रहेको उल्लेख गर्दै उनले २०६४ सालदेखि निरन्तर समर्पणका साथ काम गरिरहेकाले त्यहाँ पार्टी संस्थापनकै रूपमा स्थापित रहेको बताए ।

कार्यक्रममा उनले वर्तमान राजनीतिक परिस्थितिमा विचार, सिद्धान्त र जनआधारको राजनीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।


सम्बन्धित समाचार