२४ माघ, बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । लामो समय कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका कुशवाहाले ठूला दलहरूमा आत्मसम्मान नपाएको र सामाजिक न्यायका मुद्दाहरू कुण्ठित पारिएको भन्दै नयाँ वैकल्पिक शक्तिमार्फत चुनावी मैदानमा होमिएको बताएका हुन् ।
२०६४ सालको संविधानसभा सदस्य रहेका कुशवाहालाई पटकपटक दल परिवर्तन गरेको आरोप लाग्ने गरेको छ । यस सम्बन्धमा स्पष्ट पार्दै उनले भने, “म अपमान सहेर बस्ने व्यक्ति होइन । जब पार्टीभित्र मेरो स्वाभिमान र सामाजिक न्यायमाथि प्रहार हुन्छ, म विद्रोह गर्छु । यो मेरो क्रान्तिकारी विचारधाराको उपज हो।”
उनले २०७० सालमा माओवादीले टिकट खोसेपछि सद्भावना पार्टी रोजेको र २०८० को उपनिर्वाचनमा माओवादीले उपेन्द्र यादवलाई सघाउने निर्णय गरेपछि जनमत पार्टीबाट चुनाव लडेको स्मरण गरे । जनमत पार्टीका अध्यक्ष सीके राउतले गरेका प्रतिबद्धताहरू पूरा नगरेका कारण आफूले अघिल्लो उपनिर्वाचन हार्नुपरेको उनको आरोप छ ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीभित्र सुरु गरेको विद्रोहलाई साथ दिँदै आफूले वैकल्पिक शक्तिको निर्माण गरेको कुशवाहाले बताए । “पुराना दलहरूमा नातावाद र कृपावाद हाबी भयो । जनार्दन शर्माजी जस्तो इमानदार कमान्डरसँगको भावनात्मक सम्बन्ध र ‘जेनजी’ आन्दोलनको भावनालाई कदर गर्दै हामीले प्रलोपा गठन गरेका हौँ,” उनले भने ।
बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा टिप्पणी गर्दै कुशवाहाले उनीहरूलाई सिद्धान्तविहीन शक्तिको संज्ञा दिएका छन् । बालेन शाहले काठमाडौँमा गरिब, सुकुम्वासी र साना व्यापारीलाई लखेटेर उनीहरूको जीविकोपार्जनमाथि प्रहार गरेको उनको आरोप छ ।
उनले भने, “बालेन शाह राजनीतिक मान्छे होइनन्, उनीसँग कुनै दर्शन छैन । रास्वपा पनि हावाको भरमा आएको पार्टी हो, जसमा कुनै ठोस विचार छैन ।” काठमाडौँका जनताले बालेनलाई ‘ठकुरी शाह’ सम्झेर जिताए पनि उनले शहरका विपन्न वर्गलाई दुःख दिने काम मात्र गरेको कुशवाहाको तर्क छ ।
आफ्नो निर्वाचन क्षेत्रमा सुशासन, अनुशासन र कृषि क्षेत्रको सुधारलाई मुख्य एजेन्डा बनाएको उनले बताए । “मधेसमा सामाजिक भेदभाव र पैसाको चलखेलले राजनीति प्रदूषित भएको छ । म किसानहरूका लागि मलखाद, सिँचाइ र विद्युत् जडानका लागि काम गर्नेछु,” उनले प्रतिबद्धता जनाए ।
विगतको उपनिर्वाचनमा सबै दल मिल्दा पनि आफूले एक्लै २३ हजार ६ सय मत ल्याएको उल्लेख गर्दै यसपटक सबै दल छुट्टाछुट्टै लडेकाले आफ्नो जित सहज हुने कुशवाहाको विश्लेषण छ ।
















