२५ माघ, वीरगञ्ज । पर्सा जिल्लाको मेरुदण्ड मानिने ’जनता रोड’ अन्तर्गत पर्ने दुई मुख्य पुलहरू झण्डै दुई दशकदेखि अलपत्र अवस्थामा रहेका छन् । तिलावे र भलुवाही खोलामा निर्माणाधीन यी पुलहरू सम्पन्न नहुँदा स्थानीयले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् भने राजनीतिक दलहरूका लागि यो केवल ’चुनावी एजेन्डा’ मात्र बन्ने गरेको छ ।
पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ९ एकटाँगामा रहेको तिलावे खोलाको पुल १७ वर्षदेखि अलपत्र छ । साढे पाँच करोड रुपैयाँको लागतमा पप्पु कन्स्ट्रक्सनले ठेक्का सकार गरेको यो आयोजना बीचैमा छाडिएपछि स्थानीय आक्रोशित छन् । स्थानीय हृदयनारायण यादव भन्छन्, “पुल नहुँदा जनता रोड भएर यात्रा गर्ने हजारौँ मानिसले कष्ट खेप्नुपरेको छ, तर निर्माण कम्पनी र सरोकारवाला मौन छन् ।”
त्यस्तै, क्षेत्र नं. ३ र ४ लाई जोड्ने भलुवाही खोलाको पुल पनि १५ वर्षदेखि सम्पन्न हुन सकेको छैन । पटेर्वासुगौली-४ र जीराभवानी-५ को सिमानामा पर्ने यो पुल आर्थिक वर्ष २०६५/६६ मा वाईपी मोना जेभिले २ करोड २२ लाखमा ठेक्का लिएको थियो ।
६० मिटर लामो यो पुल २०७५/७६ सालमा निर्माणको अन्तिम चरणमा पुगेको थियो । तर, सोही वर्ष बाढीले दुवैतर्फको एप्रोच रोड बगाएपछि पुलको संरचना खोलाको बीचमा बेवारिसे अवस्थामा उभिएको छ । स्थानीय प्रकाश थारुका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीले गर्दा करोडौँको लगानी बालुवामा पानी खन्याए जस्तो भएको छ ।
ग्रामीण भेगमा पुल अभावले स्थानीय जनजीवन कष्टकर बन्दै गएको छ । वर्षायाम लागेसँगै खोलामा आउने बाढीका कारण आवागमन ठप्प हुने मात्र होइन, स्वास्थ्य सेवा, कृषि अर्थतन्त्र र अन्तरपालिका सम्पर्कमा समेत गम्भीर असर परेको स्थानीयवासीले गुनासो गरेका छन् ।
स्थानीयका अनुसार पुल नहुँदा सबैभन्दा ठूलो मार स्वास्थ्य सेवामा परेको छ । वर्षायाममा खोलामा पानीको बहाव बढेपछि एम्बुलेन्स गाउँसम्म पुग्न सक्दैन । आकस्मिक बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनु परेको दुःखद घटनासमेत हुने गरेको उनीहरूको भनाइ छ । “बिरामी बोकेर खोलै तर्नुपर्छ, कतिपय अवस्थामा उपचार नपाउँदै ज्यान जान्छ,” स्थानिय प्रकाश थारुले पीडा सुनाए ।
पुल अभावको अर्को प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिएको छ । किसानहरूले उत्पादन गरेको अन्नबाली, तरकारी तथा अन्य कृषि उपज बजारसम्म पु¥याउन सहज बाटो नपाउँदा घुमाउरो मार्ग प्रयोग गर्न बाध्य छन् । यसका कारण ढुवानी खर्च दोब्बर बढ्ने गरेको छ भने कतिपय उपज समयमै बजार नपुग्दा कुहिएर नोक्सानीसमेत हुने गरेको किसानहरूको गुनासो छ । ढुवानी लागत बढ्दा उत्पादनको उचित मूल्यसमेत नपाउने अवस्था रहेको उनीहरू बताउँछन् ।
वर्षायाममा बाढी आउनासाथ ठोरी, जिराभवानी, पटेर्वासुगौली र सँखुवाप्रसौनी गाउँपालिकाबीचको आवागमन पूर्ण रूपमा विच्छेद हुने गरेको छ । दैनिक उपभोग्य वस्तु ढुवानी, विद्यार्थीको आवतजावत, बिरामीको ओसारपसार तथा प्रशासनिक कामकाजसमेत प्रभावित हुने गरेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।
हरेक निर्वाचनमा उम्मेदवारहरूले यी दुई पुल निर्माण गर्ने मुख्य आश्वासन दिने गरेका छन् । “हाम्रा लागि पुल नेताहरूले भोट माग्ने कार्ड मात्र भयो”, स्थानीय भुवन पौडेलले आक्रोश पोखे, “जितेर गएपछि कसैले फर्केर हेर्दैनन् ।”
अहिले पुनः निर्वाचन नजिकिँदै गर्दा दलका उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । तर, यसपटक स्थानीयले झुटो आश्वासन नदिन र पहिले काम गरेर देखाउन चेतावनी दिन थालेका छन् । विगतमा जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयले यसपटक दबाबमूलक कदम चाल्ने तयारी गरेका छन् ।
















