Logo

२७ माघ,वीरगञ्ज । भारतका कोलकत्ता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्गमार्फत आयात हुने नेपाली मालसामान वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाहसम्म समयमै नआएपछि यहाँका आयातकर्ता र उद्योगी व्यापारी मर्कामा परेका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष माधव राजपालका अनुसार, पहिले कोलकत्ता र हल्दिया बन्दरगाहबाट लोड हुने रेल्वे ¥याक ३–४ दिनभित्र वीरगन्ज पुग्ने गरेको थियो भने विशाखापट्टनमबाट ५–७ दिनमा आइपुग्थ्यो। तर, तिहार यता यी रेल्वे ¥याकहरु पहिलाको भन्दा दोब्बर समय लिएर मात्र वीरगन्ज आइपुग्न थालेका छन्।

राजपालका अनुसार, ‘तिहारदेखि कोलकत्ता र हल्दिया बन्दरगाहबाट लोड हुने रेल्वे ¥याक वीरगञ्ज पुग्न ८–१५ दिन लाग्न थालेको छ। यस्तै, विशाखापट्टनमबाट लोड भएका ¥याकहरु १५–२० दिनसम्म लाग्छन्। यसले ढुवानी लागत दोब्बर बढाएको छ।’

उनले भने, ‘कच्चा पदार्थ समयमा नआउँदा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। उत्पादन लागत बढ्दै गएको छ र उत्पादन समयमै बजारमा आपूर्ति गर्न समस्या भइरहेको छ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले भने, यो समस्या विगत तीन महिनादेखि निरन्तर भइरहेको छ। गौतमका अनुसार, मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी माघ २२ मा वीरगन्ज आएर यसबारे ध्यानाकर्षण गराइसकेको भए पनि समस्या समाधान भएको छैन। संघले मंगलबार मन्त्रालयमा पत्राचार समेत गरेको छ।

उनले थपे, ‘भारतीय बन्दरगाहबाट लोड भएका रेल्वे ¥याकहरू बीच बाटोमा रोकिएर बस्ने गरेका छन्। यसको दीर्घकालीन समाधानका लागि नेपाल सरकारले भारत सरकार र भारतीय रेल मन्त्रालयसँग उच्चस्तरमा संवाद गर्नुपर्छ। अन्यथा यहाँका उद्योगधन्दा धराशायी हुने निश्चित छ।’


सम्बन्धित समाचार