Logo

२८ माघ, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहेका बेला बारा क्षेत्र नं. ४ मा पर्ने प्रसौनी गाउँपालिकामा निर्वाचन आचारसंहिताको खुल्लमखुल्ला उल्लंघन भएको पाइएको छ । निर्वाचन आयोगले मतदातालाई प्रभाव पार्ने गरी नयाँ योजना सञ्चालन गर्न रोक लगाए पनि पालिकाले धमाधम बोरिङ खन्ने र धारा जडान गर्ने कार्यलाई तीव्रता दिएको हो ।

विशेषगरी प्रसौनी गाउँपालिकाको वडा नं. २ (बेलहिया), वडा नं. ५ (प्रष्टोका) र वडा नं. ६ (भलुही चोक) क्षेत्रमा अहिले नयाँ योजनाहरू सञ्चालन भइरहेका छन् । निर्वाचनको मुखमा मतदातालाई प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यले घर घरमा खानेपानीका धारा पुर्‍याउने नाममा पालिकाको बजेट र मेसिनरी प्रयोग भइरहेको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार नेकपा (एमाले) बाट निर्वाचित गाउँपालिका अध्यक्ष विनोद प्रसाद जयसवाल र उपाध्यक्ष किरण देवीको प्रत्यक्ष अगुवाइमा यी कार्यहरू भइरहेका छन् । आगामी निर्वाचनमा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किसान श्रेष्ठलाई विजयी गराउने रणनीतिक योजना अन्तर्गत यी योजनाहरू कार्यान्वयनमा ल्याइएको बुझिएको छ ।

निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनको मिति घोषणा भएपछि कुनै पनि नयाँ योजना सुरु गर्न वा मतदातालाई प्रलोभनमा पार्ने गरी बजेट खर्च गर्न निषेध गरेको छ । तर, प्रसौनीमा भने जनप्रतिनिधिहरूकै सक्रियतामा आचारसंहिताको धज्जी उडाउँदै विकासको ’कार्ड’ खेलिएको छ ।

यस विषयमा वडा नं. ६ का अध्यक्ष वृजकिशोर कुशवाहाले पालिका नेतृत्वले एकलौटी ढंगले काम गरिरहेको पुष्टि गरेका छन् । उनका अनुसार चुनावी घरदैलोका क्रममा मतदाताले राखेका मागलाई सम्बोधन गर्न उम्मेदवारहरूले जनप्रतिनिधिलाई दबाब दिने गरेका छन् ।

उनले भने, “पार्टीका उम्मेदवारहरू घरदैलोमा पुग्दा स्थानीयले धारा, कल र बोरिङको माग राख्नुभयो । उम्मेदवारहरूले मलाई पनि ती समस्या समाधान गरिदिन भन्नुभएको थियो । तर, मैले निर्वाचन आचारसंहिताका कारण अहिले सम्भव नभएको र योजनाहरू पहिले नै तय भइसकेकाले निर्वाचनपछि मात्र काम अगाडि बढ्ने जवाफ दिएको थिएँ ।” तर, वडा अध्यक्षको सो अडानका बावजुद पालिका अध्यक्ष र उपाध्यक्षले भने वडासँग समन्वय नगरी काम अगाडि बढाएको उनको आरोप छ ।

भेलाही चोकमा पालिका अध्यक्षकै पहलमा बोरिङ जडानको कार्य भएको वडा अध्यक्ष कुशवाहाको दाबी छ । उनले भने, “पालिका अध्यक्ष र उपाध्यक्ष दुवै एउटै पार्टी नेकपा एमाले) का हुनुहुन्छ । उहाँहरूले न हामीसँग सल्लाह गर्नुहुन्छ, न कुनै जानकारी दिनुहुन्छ ।”

स्थानीयको आक्रोशः “भोटका लागि मात्रै सम्झियो”

पालिकाको यस्तो कदमप्रति सचेत स्थानीयले विरोध जनाएका छन् । नाम नछाप्ने सर्तमा एक स्थानीय बासिन्दाले भने,“वर्षौंसम्म हाम्रा समस्या कसैले सुन्ने फुर्सद पाएनन्, अहिले चुनाव नजिकिएपछि भोट माग्ने निहुँमा घर घरमा धारा पुर्‍याउने भन्दै मेसिन ल्याइएको छ । यो सिधै मतदाता फकाउने दाउ हो । सरकारी ढुकुटी खर्चेर एउटा विशेष पार्टीको उम्मेदवारलाई फाइदा पुर्‍याउन खोज्नु सरासर गलत छ ।”

२०७९ को स्थानीय तह निर्वाचनमा ४ हजार ४८८ मत ल्याएर विजयी भएका अध्यक्ष जयसवाल अहिले आफ्ना पार्टीका उम्मेदवारको चुनावी प्रचारप्रसार र प्रभाव विस्तारमा सक्रिय देखिएका छन् । सरकारी स्रोत साधनको यस्तो दुरुपयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

निर्वाचनको स्वच्छता कायम राख्न यस्ता गतिविधि तत्काल रोक्नुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग स्थानीय सचेत नागरिकहरूको छ ।


सम्बन्धित समाचार
भर्खरै