Logo

२ फागुन, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धदेखि सुरु भएको राजनीतिक तथा सामाजिक सङ्घर्ष अब उत्पादन र समृद्धिको चरणमा प्रवेश गरेको बताएका छन् ।

रुकुमपूर्वको भूमे गाउँपालिका-२ खाबाङ्ग बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताले उठाइरहेका मुद्दाहरूलाई जनयुद्धकै निरन्तरता भएको उल्लेख गरे । “जेन जी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्,” उनले भने, “मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ।”

संविधान जारी भएको एक दशकमा विभिन्न संरचनागत सुधारका प्रयास गरिएको उल्लेख गर्दै दाहालले सरकारमा रहँदा एक वर्षभित्र पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको जानकारी दिए । सो कार्यक्रम कार्यान्वयनका लागि कानुन संशोधनसमेत गरिए पनि सरकारबाट बाहिरिएपछि योजना अवरुद्ध भएको उनको भनाइ थियो ।

विदेशबाट फर्किएका युवालाई लक्षित उद्यमशीलता कार्यक्रम अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार्दै उनले अबको संघर्ष उत्पादनसँग जोडिने स्पष्ट पारे । सूचना प्रविधि, पर्यटन, कृषि लगायत क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी तथा स्वरोजगारी सिर्जना गर्न सकिने उनको दाबी थियो ।

पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न नपाउँदा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिएको अनुभव सुनाउँदै उनले दोहोरो जिम्मेवारी भएका निकाय गाभ्ने, सङ्घीय संरचनामा दोहोरिएका कार्यक्रम हटाउने तथा नीति बजेट प्रक्रियामा सुधार गर्ने प्रयासहरू अधूरै रहेको बताए ।

कुशासन र भ्रष्टाचार बढ्दै जाँदा जनआक्रोशले व्यवस्था नै सङ्कटमा पर्न सक्ने चेतावनी आफूले पटक पटक दिएको स्मरण गर्दै उनले वर्तमान परिस्थिति त्यसैको परिणाम भएको दाबी गरे । “मेरो आजको लडाइँ रुकुमको समृद्धि र समग्र देशको विकासका लागि हुनेछ,” उनले भने । लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै अधुरा एजेन्डा पूरा गर्न नयाँ ऊर्जा, उत्पादनमुखी अभियान र राष्ट्रिय एकताको आवश्यकता रहेको उनको जोड थियो ।

कार्यक्रममा उनले इतिहास र वर्तमानलाई जोडेर मात्र राष्ट्रको सुदृढ भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरे । फागुन १ केवल अतीतको स्मरण नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उनको भनाइ थियो ।

रुकुमपूर्वलाई क्रान्ति र शान्ति प्रक्रियाको साक्षी भूमि भन्दै उनले वंशमा आधारित शासन व्यवस्थाविरुद्धको विद्रोह यही भूमिबाट सुरु भएको स्मरण गरे । महिलाले घुम्टो त्यागेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजातिले पहिचान र स्वाभिमानका लागि सङ्घर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको ऐतिहासिक सन्दर्भ उनले उल्लेख गरे ।

३०औँ जनयुद्ध दिवसका अवसरमा संयोजक दाहालले सहिद, बेपत्ता परिवार तथा घाइतेलाई सम्मान गरेका छन् । कार्यक्रममा पार्टी नेतृ पम्फा भुसाल सहितका नेताहरूको सहभागिता रहेको थियो ।

जनयुद्ध दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममार्फत जनआन्दोलन र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धि संस्थागत गर्दै समृद्धितर्फ उन्मुख हुने राजनीतिक सन्देश दिन खोजिएको आयोजकले बताएका छन् ।


सम्बन्धित समाचार