५ फागुन, वीरगञ्ज । मतदान गर्न अब १६ दिन मात्र बाँकी रहँदा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका मतदाताहरूले आफ्नो मत कसलाई दिने भन्नेबारेमा धारणा बनाउन सुरु गरेका छन् ।
उम्मेदवारहरू चुनावी एजेन्डा र नारासहित घरदैलोमा पुग्न थालेपछि मतदाताहरूले पुराना आश्वासन र नयाँ सम्भावनाबीच तुलना गर्न थालेका हुन् ।
यसपटकको निर्वाचनमा पर्साका युवा मतदाताहरू विगतको जस्तो भाषण र आरोप प्रत्यारोपमा अल्झिने मुडमा देखिएका छैनन् । वीरगञ्ज जेलरोडका युवा मतदाता शिवमं पटेलले यसपालि देशको समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई मात्र मत दिने बताए । “आश्वासन धेरै पायौँ, अब हामीलाई ठोस योजना र भविष्य निर्माणको सङ्कल्प भएको नेतृत्व चाहिएको छ,” उनले भने ।
त्यसैगरी पोखरियाका युवा मतदाता राजु रौनियारका अनुसार सहरीदेखि ग्रामीण क्षेत्रका युवाहरू यसपटक काम गर्ने क्षमता भएका र समाज जोड्ने उम्मेदवारको खोजीमा छन् । “झूटा आश्वासन र विकासे नारामा अब हामी लोभिने छैनौँ,” रौनियारले स्पष्ट पारे ।
पटेर्वा सुगौलीका मतदाता देवी प्रसाद दाहालले मधेसको कृषि क्षेत्र उपेक्षामा परेको भन्दै यसको विकासको स्पष्ट खाका ल्याउने उम्मेदवारलाई प्राथमिकता दिने बताए । उनले भने, “हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको छ। जात र दलका नाममा समाज भाँड्ने राजनीति अब चल्दैन।”
यस्तै, ठोरीका मतदाता रामप्रकाश कुँवरले समाजमा विग्रह ल्याउने र भ्रम फैलाएर मत बटुल्ने प्रवृत्ति विरुद्ध आफूहरू सचेत रहेको दाबी गरे । “सपना धेरै बाँडियो तर काम देखिएन, अब गफ होइन परिणाम चाहियो,” कुँवरले थपे ।
पर्साका चार निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कूल १०७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारहरूले मतदाताको घरदैलोमा पुगेर मत माग्ने क्रमलाई तीव्रता दिएका छन् ।
जिल्लामा रहेका विभिन्न ४४१ मतदान केन्द्रहरूमा निर्वाचनको तयारी तीव्र पारिएको छ भने मतदाताहरूले पनि नेतृत्व छनोटका लागि आफ्नो विवेक प्रयोग गर्ने तयारी गरिरहेका छन् ।

















