६ फागुन, वीरगञ्ज । मधेस प्रदेशको राजनीतिक ‘हब’ मानिने पर्सा जिल्लाको क्षेत्र नम्बर ३ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ । परम्परागत शक्ति नेपाली कांग्रेस, एमाले र उदाउँदो रास्वपासँगै यसपटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार छोटेलाल प्रसाद यादवको उपस्थितिले चुनावी परिणामलाई नयाँ दिशा दिने संकेत देखाएको छ ।
विगतका दुई निर्वाचनमा झिनो मतान्तरले पराजित भएका नेपाली कांग्रेसका सुरेन्द्र चौधरी यसपटक ‘सेन्टिमेन्ट’ र जातीय मतको बलमा संसद छिर्ने दाउमा छन् । २०७९ मा एमालेका राजकुमार गुप्तासँग जम्मा १६७ मतले पराजित भएका चौधरीलाई यसपटक गुप्ताको अनुपस्थितिले केही राहत दिएको छ । तर पनि परिस्थिति पहिलेको जस्तो सहज देखिएन । गुप्ता पोखराको ’लिचीबारी भ्रष्टाचार काण्ड’ मा परेपछि एमालेले नयाँ अनुहारका रूपमा रुपेश पाण्डेलाई मैदानमा उतारेको छ । गुप्ताको अनुपस्थिति र एमालेभित्रको आन्तरिक किचलोले कांग्रेसलाई राहत पुग्ने चौधरी पक्षको दाबी रहे पनि युवा मतदाताको झुकाव अर्को चुनौती बनेको छ ।
यसपटकको निर्वाचनमा सबैभन्दा बढी चर्चामा छन्, माओवादी केन्द्र र एकिकृत समाजवादीको संयुक्त शक्ति मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ‘तारा छाप’ लिएर मैदानमा उत्रिएका छोटेलाल प्रसाद यादव । २०७९ को समानुपातिक मतलाई हेर्ने हो भने माओवादीको ३ हजार १४३ र समाजवादीको ३ हजार ८४६ गरी यो शक्ति तेस्रो स्थानमा छ । तर, यो गणित मात्र छोटेलालको जितको आधार होइन ।
क्षेत्रका राजनीतिक विश्लेषकहरूका अनुसार, पुराना दलहरू (कांग्रेस र एमाले) भित्रको आन्तरिक कलह र उम्मेदवार छनौटप्रतिको असन्तुष्टिलाई छोटेलालले कुशलतापूर्वक आफ्नो पक्षमा पार्न थालेका छन् । “छोटेलालजीको पकड भुईँतहका कार्यकर्तामा बलियो छ र उहाँले एकताको सन्देशमार्फत वामपन्थी मतलाई ध्रुवीकृत गरिरहनुभएको छ” स्थानीय बुद्धिजीवी रामचन्द्र साह भन्छन्,“यदि पुराना दलप्रतिको असन्तोष यसरी नै बढ्दै गए छोटेलालले परिणाम उल्ट्याउने निश्चित छ ।”
पर्सा-३ मा कुल ९६ हजार ५४२ मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ४१ प्रतिशत छन् । यही युवा मत नै यस पटकको निर्वाचन परिणाम उल्ट्याउन सक्षम छ । रास्वपाका रामाकान्त चौरसियाले बालेन्द्र साहको नाममा युवा मत तान्ने कोसिस गरिरहे पनि संगठनको अभाव उनलाई खट्किएको छ । यस्तो अवस्थामा सांगठनिक पकड भएका छोटेलालले युवा र असन्तुष्ट मतलाई आफ्नो पक्षमा पार्न सक्ने सम्भावना प्रवल देखिएको छ ।
गत चुनावमा सुशासन पार्टीका राजकुमार यादवले पाएको १० हजारभन्दा बढी मत अहिले कुन धारमा जान्छ भन्ने कुराले पनि धेरै अर्थ राख्नेछ । यादव अहिले जय मातृभूमि पार्टीबाट पुनः मैदानमा छन्, जसले एमाले र कांग्रेसको ‘कोर’ भोट काट्ने अनुमान गरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, यो ‘परिवर्तनको मत’ यस पटक कांग्रेस-एमालेको विकल्प खोजिरहेका छोटेलाल यादवको पोल्टामा जाने सम्भावना उच्च छ ।
पर्सा-३ मा यस पटक परम्परागत शक्तिहरूको साख जोगाउने संघर्ष र नयाँ कम्युनिस्ट एकताको लहरबीच महासंग्राम हुँदैछ । कांग्रेस र एमालेको आन्तरिक कलह, भ्रष्टाचार काण्डले सिर्जित निराशा र थारु तथा मधेसी समुदायको मिश्रित बसोबास भएको यस क्षेत्रमा छोटेलाल प्रसाद यादवले अन्य उम्मेदवारको तुलनामा बढी ’सेन्टिमेन्ट’ र ’संगठनात्मक मत’ बटुल्दै जीतको शिखर चुम्ने देखिन्छ ।
विकास, सुशासन र नयाँ भिजन खोजिरहेको यो युवा मतलाई जसले आकर्षित गर्न सक्छ, उसैको पल्ला भारी हुने देखिन्छ ।

















