Logo

६ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ (घोषणापत्र) आज मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गर्दैछ। ऐतिहासिक एवं सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने एक विशाल ‘प्रतिज्ञा सभा’ मार्फत पार्टीले आफ्नो भावी कार्ययोजना जनमानसमा लैजान लागेको हो ।

जनकपुरको प्रतिज्ञा सभालाई नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय तहका प्रभावशाली नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेसले यस सभालाई केवल राजनीतिक औपचारिकतामा मात्र सीमित नराखी मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जारी गरेको विज्ञप्ति अनुसार, पार्टीले मधेशका जनताको पहिचान, अधिकार र समानुपातिक समावेशितालाई आफ्नो मूल एजेण्डा बनाएको छ।

विज्ञप्तिमा भनिएको छ, सभापति गगन कुमार थापा स्वयं मधेशको जिल्ला सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बन्नु केवल चुनावी रणनीति मात्र होइन, यो मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने बलियो सन्देश पनि हो।”

कांग्रेसले मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग–व्यापार विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण तथा सामाजिक न्याय सुनिश्चित गर्ने कार्ययोजनासहित अघि बढ्ने अठोट व्यक्त गरेको छ ।

प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी एक लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको कांग्रेसले जनाएको छ ।

जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गरेलगत्तै काठमाडौं मा पनि पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने कार्यक्रम छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिज्ञापत्रबारे औपचारिक जानकारी दिने जनाइएको छ ।


सम्बन्धित समाचार
भर्खरै