६ फाल्गुण, काठमाडौं । नेपाली अर्थतन्त्रमा पछिल्लो आधा दशकको समय पहेलो धातु सुनको मूल्यवृद्धिको हिसाबले एउटा अविश्वसनीय सुनामी सावित भएको छ।
कुनै समय आम मानिसको पहुँचभित्रै लाग्ने सुनको मूल्य अहिले ऐतिहासिक उचाइमा पुगेर प्रतितोला ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमासमेत नाघेको छ। २०७८ सालमा करिब ९४ हजार रुपैयाँको हाराहारीमा कारोबार भइरहेको सुनको भाउ २०८२ को अन्त्यतिर आइपुग्दा ३ लाख ६ हजार ६ सय रुपैयाँको रेकर्ड कायम हुनुले बजारमा तीव्र हलचल पैदा गरेको छ। ५ वर्षको यो छोटो अन्तरालमा मूल्य झण्डै तेब्बरले बढ्नु केवल संयोग मात्र नभई विश्वव्यापी आर्थिक उथलपुथल र बदलिँदो भू–राजनीतिक समीकरणको सिधै परिणाम हो।
सुरक्षित लगानीको खोजीमा पहेलो धातुको सहारा
विज्ञहरूका अनुसार सुनको यो अस्वाभाविक वृद्धिको सबैभन्दा ठूलो कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र लगानीकर्ताहरूको असुरक्षाको भाव हो । अमेरिका र चीनबीचको व्यापारिक युद्ध तथा रुस–युक्रेन तनावका कारण विश्व अर्थतन्त्रका अन्य अवयवहरू जस्तै शेयर बजार र घरजग्गा व्यवसाय सुस्ताउँदा लगानीकर्ताहरूले ‘सुरक्षित स्वर्ग’ को रूपमा सुनलाई रोजेका छन् । लगानीका अन्य क्षेत्रहरू अनिश्चित देखिएपछि ठूला कर्पोरेट हाउसदेखि सर्वसाधारणसम्मले सुनको होल्डिङ बढाएका छन् । यसबाहेक अमेरिकी डलरको मूल्यमा आएको निरन्तरको मजबुती र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको‘अमेरिका फस्ट‘ नीति अन्तर्गतका कडा व्यापारिक करका प्रावधानहरूले विश्वव्यापी मुद्रा बजारमा जुन उतारचढाव ल्यायो, त्यसको सिधै फाइदा सुनको भाउलाई पुगेको छ ।
विश्व अर्थतन्त्रको रक्षात्मक ढाल बन्दै सुन
सुनको मूल्य उकास्नमा विश्वका शक्तिशाली केन्द्रीय बैंकहरूको भूमिका पनि उत्तिकै निर्णायक देखिएको छ। विशेष गरी चीनको केन्द्रीय बैंकले आफ्नो भण्डारणमा सुनको मात्रा नाटकीय रूपमा थपिरहनु र ब्राजिल, भारत तथा रुस जस्ता देशहरूले पनि अमेरिकी डलरमाथिको निर्भरता कम गर्न सुन खरिदलाई तीव्रता दिनुले अन्तर्राष्ट्रिय मागलाई सधैं उच्च राखेको छ ।
सन् २०२१ मा प्रति औंस १८४२ डलर रहेको सुन अहिले २०२६ सम्म आइपुग्दा ५०४१ डलर नाघ्नुले यो धातु केवल गहना मात्र नभई विश्व अर्थतन्त्रको रक्षात्मक ढाल बनेको पुष्टि गर्दछ । नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय बजारमा हुने यस्तो वृद्धिले एकातिर आन्तरिक मूल्य बढाएको छ भने अर्कोतिर सर्वसाधारणको क्रयशक्तिलाई खुम्च्याउँदै सुनलाई सामान्य उपभोगको वस्तुबाट ‘अत्यन्त विलासी’ धातुको श्रेणीमा पुर्याएको छ ।

















