८ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशस्तरीय सभाको पूर्वसन्ध्यामा दाङमा राजनीतिक तनाव उत्पन्न भएको छ । एमाले महासचिव शंकर पोखरेलको गृहनगर समेत रहेको दाङमा रास्वपा कार्यकर्ताहरूले नेकपा (एमाले) को झण्डा जलाएपछि स्थिति उत्तेजित बनेको हो ।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि सडकमा उत्रिएका कार्यकर्ताहरूले एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाएका हुन् । सुर्खेतको सभा समापन गरी लामिछाने तुलसीपुर हुँदै घोराही पुग्ने क्रममा उक्त घटना भएको हो । सार्वजनिक भएका भिडियो फुटेजहरूमा कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलविरुद्ध चर्को नाराबाजी गरेको समेत सुनिन्छ ।
यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) साह भने स्वास्थ्यमा अचानक समस्या देखिएपछि बिहीबार साँझ नै सुर्खेतबाट काठमाडौं फर्किएका छन् । उनी आज घोराहीमा हुने भनिएको लुम्बिनी प्रदेशस्तरीय चुनावी सभामा सहभागी हुने कार्यक्रम थियो ।
आफ्नो पार्टीको झण्डा जलाइएको घटनाप्रति नेकपा (एमाले) ले कडा आपत्ति जनाएको छ । एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालमार्फत उक्त कार्यको भर्त्सना गर्दै यसलाई ‘अराजकता’ को संज्ञा दिनुभएको छ ।
“लोकतन्त्रमा आफ्ना एजेन्डा लिएर चुनाव प्रचार गर्न सबैले पाउँछन्, तर अर्को पार्टीको अस्तित्व र झण्डा जलाउने जस्ता उच्छृङ्खल र अराजक गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुँदैनन्,” चौधरीले भन्नुभएको छ।
तनावका बीच रास्वपाले आज दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय विशाल चुनावी सभा आयोजना गर्दैछ । झण्डा जलाइएको घटनापछि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने स्थानीय प्रशासनले दलहरूलाई संयम अपनाउन आग्रह गरेको छ ।

















