Logo

२३ फागुन, वीरगञ्ज । मधेस प्रदेशको राजनीतिमा दशकौँदेखि जरा गाडेर बसेका स्थापित दल र दिग्गज नेताहरू यसपटकको प्रतिनिधिसभा निर्वाचनमा गलशायी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेशका आठवटै जिल्लामा सुनामी ल्याउँदै कांग्रेस, एमाले, माओवादी र मधेशकेन्द्रित दलका शीर्ष नेताहरूलाई अप्रत्याशित पराजयको स्वाद चखाएको छ ।

सर्लाहीका चारवटै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गर्ने देखिएको छ। काठमाडौँ छोडेर मधेश झरेका नेपाली कांग्रेसका सभापति गगन थापा क्षेत्र नं. ४ मा रास्वपाका अमरेश कुमार सिंहसँग ३,२०९ मतान्तरले पछाडि परेका छन्। सिंहले ९,०३७ मत पाउँदा थापा ५,८२८ मतमा सीमित छन्।

त्यस्तै, सर्लाही ३ मा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ रास्वपाका नरेन्द्र शाह कलवारसँग झण्डै तेब्बर मतले पछाडि छन्। कलवारले १७,२६९ मत ल्याउँदा श्रेष्ठले ५,४८७ मत मात्र पाएका छन्। क्षेत्र नं. १ मा नीतिमा भण्डारी कार्की (२५,३२१ मत) र क्षेत्र नं. २ मा रबिन महतो (२८,९९१ मत) ले भारी मतान्तरसहित अग्रता लिँदै पुराना नेता महिन्द्र राय यादवलाई समेत स्तब्ध पारेका छन् ।

धनुषा-३ मा रास्वपाका प्रवक्ता मनिष झा ४३,९८८ मतका साथ निर्वाचित भएका छन्। उनले कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई १६,३३६ को विशाल मतान्तरले पराजित गरे। महोत्तरी–१ मा पनि रास्वपाका प्रमोदकुमार महतो ३४,६३६ मतका साथ विजयी भएका छन्, जहाँ उनले पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गरे। महोत्तरीका अन्य क्षेत्रमा पनि रास्वपाका दिपक कुमार साह, उज्वल कुमार झा र गौरी कुमारीले अग्रता कायम राखेका छन् ।

सप्तरी–३ मा जसपा अध्यक्ष उपेन्द्र यादव रास्वपाका अमर कान्त चौधरीसँग पराजित हुने अवस्थामा पुगेका छन्। चौधरीले ८,७७५ मत पाउँदा यादव ६,६०५ मतमा खुम्चिएका छन्। क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सीके) राउत तेस्रो स्थानमा झरेका छन्, जहाँ रास्वपाका रामजी यादव ६,८७५ मतका साथ अग्रस्थानमा छन्। सिराहाका चारवटै क्षेत्रमा बब्लु गुप्ता, शिव शंकर यादव, शम्भु कुमार यादव र तपेश्वर यादवले रास्वपाको झण्डा फहराइरहेका छन् ।

पर्साका चारवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ निश्चित देखिएको छ । क्षेत्र नं. १ मा हरि पन्त र क्षेत्र नं. २ मा सुशील साह कानुले २२ हजार बढी मतका साथ अग्रता लिँदा एमालेका प्रदीप यादव र कांग्रेसका अजय चौरसिया निकै पछाडि परेका छन्। क्षेत्र नं. ४ मा एमालेका जालिम मियाँ चौथो स्थानमा झरेका छन्। बारामा पनि गणेश धिमाल, अरविन्द साह, चन्दन कुमार सिंह र रहवर अंसारीले भारी मतान्तरसहित ‘घण्टी’को दबदबा कायम राखेका छन् ।

रौतहटका चारमध्ये तीन क्षेत्रमा रास्वपाका राजेशकुमार चौधरी, रविन्द्र पटेल र गणेश पौडेलले दोब्बर मतको अग्रता लिइरहेका छन् । क्षेत्र नं. ४ मा चर्चित पत्रकार ऋषि धमलाले मात्र १५४ मत प्राप्त गरेका छन् । रौतहट-२ मा भने कांग्रेसका फिरदोस आलमले रास्वपाका शेख सागरलाई सामान्य मतान्तरले पछाडि पार्दै कांग्रेसको साख जोगाउने प्रयास गरिरहेका छन् ।

मधेशमा देखिएको यो परिणामले परम्परागत ‘भोट बैंक’ भत्किएको पुष्टि गरेको छ । मतदाताले राष्ट्रिय राजनीतिमा स्थापित अनुहारभन्दा ‘डेलिभरी’ र नयाँ एजेन्डा बोकेको रास्वपालाई विश्वास गरेको देखिन्छ ।


सम्बन्धित समाचार