Logo

४ चैत,काठमाडौं । नेपालमा सञ्चालित ११ वटा स्वदेशी उद्योग तथा कम्पनीहरूलाई विश्वप्रसिद्ध बहुराष्ट्रिय ब्रान्डको ट्रेडमार्क चोरी गरेको आरोप लगाइएको छ। उद्योग विभागले आरोपित कम्पनीहरूसँग लिखित स्पष्टीकरण माग्दै सात दिनभित्र जवाफ नदिए कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।

कोकाकोला, जुम, ह्युगो बोस लगायतका अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्नो व्यापारिक चिन्ह अनाधिकृत रूपमा प्रयोग भएको भन्दै उजुरी दिएका थिए। यसअघि विभागले कम्पनीहरूलाई स्पष्टीकरण बुझाउन म्याद पठाएको थियो, तर जवाफ नआएपछि अब सार्वजनिक सूचनामार्फत अन्तिम अल्टिमेटम जारी गरिएको हो।

विभागका अनुसार, “संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम उजुरीको प्रतिलिपि पठाइए पनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन। सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र कानुन शाखामा लिखित जवाफ नपरेमा एकतर्फी कारबाही अघि बढाइनेछ।”

सूचीमा रहेका ११ उजुरीमध्ये अधिकांश अन्तर्राष्ट्रिय ब्रान्डसँग मिल्दोजुल्दो नाम वा हुबहु नक्कल प्रयोगसँग सम्बन्धित छन्। अमेरिकी कम्पनी द कोकाकोलाले सुनसरीको प्रिमियर अर्गान्सको ‘पलपल कोला’ र पाथिभरा फुड एन्ड प्याकेजिङको ‘कुल कोला’ तथा ‘सुपर फ्यान्टास्टिक’ उत्पादनमाथि उजुरी दर्ता गराएको छ।

भिडियो कलिङ एप जुमले झापाको कविश मार्केटिङको कस्मेटिक्स उत्पादनमाथि र जर्मनीको ह्युगो बोसले झापाकै इमानुर फेसन वेयरको ‘बास’ ट्रेडमार्कमाथि दाबी गरेका छन्। यसैगरी, टर्नर इन्टरटेनमेन्टले चितवनको नौलो फुड्स र भक्तपुरको पवित्रा लक्ष्मी फुडका उत्पादनमाथि उजुरी दिएका छन्।

रुपन्देहीको एक्वा नेपाल बिसलेरी र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेजमाथि अमेरिकाको इनर्जी ब्रान्ड्सले, काठमाडौं लिमिटेड र अमेरिकाको ट्रेक बाइसाइकलले क्रमशः ओम मंगलाकाली टेक्सटाइल र वीरगञ्जको टर्बो ट्रेक विरुद्ध कानुनी उपचार खोजेका छन्।

नेपालमा विदेशी ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर स्थानीय उत्पादन गर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा उद्योग विभागको यो कदम बौद्धिक सम्पत्ति संरक्षणमा कडाइ हुने संकेतको रूपमा लिइएको छ।


सम्बन्धित समाचार