Logo

३ बैशाख, काठमाडौँ । पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभावका कारण मुलुकको पहाडी तथा हिमाली भेगको मौसममा आंशिक फेरबदल आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा छिटपुट वर्षा हुने क्रम जारी छ भने हिमाली भेगमा हिमपातको सङ्केत देखिएको छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहने देखिएको छ ।

आज बिहीबारको मौसम पूर्वानुमान अनुसार विशेषगरी कोशी प्रदेशका पहाडी भू–भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रहरूमा साधारणतया बदली रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । यस्तै, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगका एक–दुई स्थानमा समेत हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

देशका अन्य पहाडी भू–भागमा आंशिक बादल लागे पनि बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहनेछ । तराईमा चर्को घाम लाग्ने र गर्मी बढ्ने क्रम जारी रहँदा पहाडी र हिमाली भेगमा भने केही समय बदली र हल्का वर्षाको यो क्रम निरन्तर रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । पहाडी क्षेत्रमा हुन सक्ने मेघगर्जन र चट्याङ्गबाट बच्न तथा हिमाली क्षेत्रमा हुने सामान्य हिमपातका कारण हुनसक्ने चिसोबाट सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै