५ साउन,वीरगञ्ज । जनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन्।
साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउने कार्यक्रम थियो। उनी आउनुअघि स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई मन्दिर परिसरबाट हटाइएको हो।
हिन्दु सम्राट सेनाले विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङको जनकपुर आगमनको विरोध जनाएको थियो। सोही क्रममा उनका समर्थकलाई मन्दिर परिसरबाट हटाइएको जनाइएको छ।
यस विषयमा साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। उनले ‘गाई कसले खाएको रहेछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें, यो कसले कस्तो राजनीति गर्न खोजेको रहेछ ?’ भन्दै प्रश्न गरेका छन्।
साम्पाङले यसअघि पनि सामाजिक सञ्जालमार्फत जनकपुरमा विवाद भएको र गृहमन्त्रीको फोन बन्द रहेको उल्लेख गरेका थिए। उनले पुराना विषय र धर्मका कुरालाई लिएर विवाद सिर्जना गरिएको भन्दै आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्।
यसैबीच जनकपुरधाममा मंगलबार श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ।




















