Logo

२० बैशाख, काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालको सञ्चार क्षेत्रले भोगिरहेको गम्भीर संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्ने विश्वव्यापी संकल्प दिवसका दिन अध्यक्ष शर्माले पत्रकारविरुद्धका अपराधमा मौलाएको दण्डहीनता, सञ्चारमाध्यमको खस्कँदो आर्थिक अवस्था र पत्रकारको पेसागत सुरक्षामा देखिएको चुनौतीले प्रेस स्वतन्त्रतालाई पेचिलो बनाएको बताएकी छन् ।

अध्यक्ष शर्माले सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै भनिन्, “सरकारी विज्ञापनमा गरिएको विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापनको संकुचन र अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशका प्रयासहरू राज्यको नियन्त्रणमुखी सोचका उपज हुन् ।” लोकतान्त्रिक संविधान लागू भएको एक दशक बितिसक्दा पनि प्रेस स्वतन्त्रता हननका घटना बढ्नु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण रहेको उनको ठहर छ । उनले सञ्चार क्षेत्रमाथि हुने जुनसुकै तहको हस्तक्षेपविरुद्ध प्रेस जगतले इतिहासदेखि नै सशक्त प्रतिवाद गर्दै आएको स्मरण गराउँदै फेरि पनि त्यस्तो अवस्था नआउला भन्न नसकिने चेतावनी दिइन्।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रूपमा घोषणा गरेयता हरेक वर्ष यो दिन प्रेसको मर्यादा र स्वतन्त्रताका लागि बहस हुँदै आएको छ। ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवद्र्धन’ भन्ने यस वर्षको नाराले समेत विश्वभर प्रेसको अपरिहार्यतालाई झल्काएको छ ।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको औपचारिक कार्यक्रम जाम्बियाको लुसाकामा हुँदै छ भने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) ले पेरिसमा आयोजना गर्ने महाधिवेशनमा विश्वका पत्रकारहरूले प्रेस स्वतन्त्रताको विश्वव्यापी अवस्थाबारे समीक्षा गर्दैछन् ।

अध्यक्ष शर्माले विषम परिस्थितिमा सञ्चारकर्मीहरूको पेसागत र भौतिक सुरक्षा सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन्, “प्रेस स्वतन्त्रताबिनाको लोकतन्त्र अधुरो हुन्छ । त्यसैले विचार र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर नागरिक अगुवा तथा पेसागत संघसंस्थाहरूसँग महासंघ ऐक्यबद्धताको अपेक्षा गर्दछ।”

अहिलेको सञ्चार क्षेत्र केवल आर्थिक संकटको मारमा मात्र नभई राज्यका अंगहरूबाटै हुने नियन्त्रणको प्रयासबाट समेत प्रताडित छ । अध्यक्ष शर्माको यो चेतावनीले प्रेस स्वतन्त्रताको पक्षमा अब सडकदेखि सदनसम्म थप खबरदारीको आवश्यकता रहेको स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै