Logo

२१ वैशाख, काठमाडौं । पश्चिम एसियामा चर्किएको द्वन्द्वको बाछिटा नेपालको पर्यटन क्षेत्रमा पनि देखिएको छ ।

विशेषगरी पर्वतारोहण र पदयात्राका लागि स्वर्ण सिजन मानिने अप्रिल महिनामा यस वर्ष पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांक अनुसार, सन् २०२६ को अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशतले कम हो ।

गत वर्ष सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४ सय ९० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।यस वर्षको तथ्यांकलाई कोरोना महामारीभन्दा अगाडिको अवस्थासँग तुलना गर्दा समेत गिरावट देखिएको छ । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ पर्यटक आएका थिए ।

अहिलेको यो सुस्तताले पर्यटन व्यवसायीहरूमा केही चिन्ता थपिदिएको छ ।क्षेत्रगत आधारमा हेर्दा, नेपालको पर्यटनलाई दक्षिण एसियाली (सार्क) मुलुकका पर्यटकहरूले नै मुख्य सहारा दिएको देखिन्छ ।

कुल आगमनको झण्डै ३१ प्रतिशत हिस्सा सार्क राष्ट्रको रहेको छ, जहाँबाट ३३ हजार ४ सय ३२ पर्यटक नेपाल आएका छन् । अन्य क्षेत्रबाट हुने आगमनमा भने युद्धको अनिश्चितता र विश्वव्यापी परिस्थितिका कारण संकुचन आएको बोर्डको विश्लेषण छ ।


सम्बन्धित समाचार