Logo

शिक्षाको माध्यमबाट मानिसले आफ्नो ज्ञान, बुद्धि र कौशल (सीप) वृद्धि गरी आनुवांशिक गुण (inherent character)लाई फष्ट्टाउन मद्दत गर्छ । ‘शिक्षा विना मानिस पशु समान हुन्छ’ भन्ने बुझाइ छ । शिक्षाले मानिसको चेतना स्तरमा वृद्धि गरी उसको एउटा सोच निर्माण गर्नमा सघाउँछ । विगतमा पुरूष भन्दा महिलालाई शिक्षामा अवसर प्राप्त नहुँदा नारी शिक्षा निकै पछाडि रहँदै आएको छ । हुन त आजभोलि शिक्षाको महत्व बुझी छोरा सरह छोरीलाई पनि नेपाली समाजमा स्कूल-कलेज पठाउने चलन बढ्दो छ। तर यस्तो बुझाइ सवै स्तरका समुदायमा समानमा रुपमा अझ पनि पुग्न सकेको छैन । गरीब, विपन्न तथा पछाडि परेको समुदाय र कतिपय मानिसमा अहिले पनि शिक्षा सम्बन्धी चेतना र त्यसमा पहुँचको समस्या छ।


नारी शिक्षालाई पुरुष शिक्षा भन्दा कम महत्त्व दिंदा समाजको रूपान्तरणमा ठूलो अवरोध उत्पन्न हुने कुरामा कुनै द्विविधा छैन । घरेलु हिंसाबाट निजात पाउन र महिला विभेदलाई समाप्त पार्न नारी शिक्षाको महत्त्वपूर्ण स्थान छ । बालबालिकाको हरेक प्रगतिमा साथ दिने आमाको शिक्षाको अवस्थाले भविष्यमा बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित हुनेकुरामा कुनै द्विविधा मान्नु पर्दैन ।

विगतमा स्त्रीलाई खाली घर व्यवहार र वैवाहिक जीवनको भूमिकामा बस्ने परम्परा बन्यो । घर-व्यवहार र वैवाहिक जीवनको सफलताका लागि पनि शिक्षा सहयोगी हुन्छ भने कुरा बुझ्न हामीलाई समय लाग्यो । तथापि समाजको विकाससँगै नारी शिक्षाको महत्त्वलाई आज सबैले स्वीकार गरेको अवस्था छ । पुरुषप्रधान समाजमा आज केही अपवाद बाहेक महिला शिक्षाको ओज बढ्दै गएको छ । शिक्षा विना मानिसमा सही संस्कारको निर्माण वा विकास असम्भव हुन्छ भने कुराको सोचले क्रमश: जरो गाड्दै छ । एउटा भना पनि छ ‘एउटा पुरुषलाई शिक्षित बनाउँदा एउटा व्यक्ति शिक्षित हुन्छ तर एउटी नारीलाई शिक्षित बनाउने हो भने सिंगो परिवार, र समाज शिक्षित हुन्छ ।’ मेरो आफ्नै अनुभवले पनि यस कुरालाई पुष्टि गर्छ । यसका अतिरिक्त, मेरो अध्ययन र  अनुसन्धानले पनि नारी शिक्षाको महत्त्व र आवश्यक्तालाई बलियो बनाउने सोचलाई अगाडि बढाउनमा मद्दत गरेको छ ।

मेरो भोगाइ र अनुभव

हाम्रो घरपरिवारमा हाम्री आमाको आगमन भन्दा पहिले शिक्षाको महत्त्व के हो र शिक्षा किन आवश्यक छ तथा महिला शिक्षाले के गर्छ ? भन्ने कुरा कसैलाई मतलब पनि थिएन । विरासतमा र केही आफैंले आर्जन गरेको प्रशस्त भौतिक धनसम्पत्तिका स्वामी मेरा पिताजी साक्षरमात्र थिए । तर आमा त्यसबेला भारतमा स्कूल शिक्षा पूरा गरी पिछ्डा वर्ग र समुदायका लागि छुट्टै रूपमा खोलिएका विद्यालयको कर्मनिष्ठ र उत्साहित शिक्षिका हुनुहुन्थ्यो । विवाह पश्चात आफ्नो त्यो शैक्षिक कर्मलाई तिलाञ्जली दिनु परेको विवसता आमा मलाई सुनाउनुहुन्थ्यो । यसरी, भौतिक वैभवको गृहस्थी जीवनमा प्रवेशले समाजलाई, खासगरी पिछडिएको वर्गका मानिसलाई शिक्षित बनाउने आमाको यात्रामा पूर्णबिराम लाग्यो । शिक्षित परिवारको उहाँको परिकल्पना पनि अधुरै रह्यो ।

मैले शिक्षा आर्जनमा ढिला सुस्ती गर्दा मलाई उत्प्रेरित गर्ने क्रममा आमाले भन्नुहुन्थ्यो,”बाबु तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगें । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहन्छु ।” आमाको यो भनाइ र त्यो बेलाको शिक्षा आर्जनप्रतिको जोश र जाँगर म अहिले पनि सम्झन्छु । स्कूलको त कुरै छाडौं, कलेज पढ्दा पनि मैले नजानेका कतिपय अंग्रेजी शब्दावली आमाले सजिलैसँग प्रष्ट्याइदिनुहुन्थ्यो। त्यतिबेलाको बिहारका विद्यालय शिक्षाको स्तर हेरेर म आफैं अचम्मित हुन्थें । आज आफ्नो वरिपरिका विद्यालय र तिनको शिक्षाको स्तर एवं अवस्था हेरेर म आफू खिन्न हुन्छु । यसको जवाफदेहिता कसले लिने हो छलफलको विषय बनाउनु पर्ने हो । यताका दिनमा शिक्षा प्राथमिकतामा नपर्ने कुरा नेपालका प्रायः सबै दलका सरकारको व्यवहार र योजनाबाट प्रष्ट हुन्छ । आज  प्राध्यापक भएर विश्वद्यालयमा केही पठन-पाठन गर्न पाएकोमा म आफ्नी आमाप्रति विशेषा रुपमा ऋणी छु । हुन त आमाप्रति यो संसारमा को ऋणी हुँदैन होला र ?


गरीब, पिछडिएका समुदाय, दलित-खासगरी तराई-दलित र पिछडिएका क्षेत्रमा गुणस्तरीय शिक्षाको अवसरमा समस्या रहेको प्रष्ट देखिन्छ । यस्ता क्षेत्र र वर्गका लागि महिला शिक्षाको विकासमा विभिन्न तहका सरकारको ध्यान जानु अति आवश्यक छ । अर्को महत्त्वपूर्ण कुरा भनेको अभिभावक शिक्षालाई अगाडि बढाउन सरकारको विशेष योजना मार्फत् शिक्षामा लगानी वृद्धि गर्नुपर्छ । यसमा पनि आमाहरुको साक्षरता र शिक्षा माथि विशेष जोड दिनु पर्छ ।

हामीलाई थाहा छ- एउटी शिक्षित आमा असल संस्कारकी जननी पनि हुन् । ‘जस्तो शिक्षा त्यस्तै संस्कार’ भनाइ पनि छ । त्यसैले संस्कार निर्माणमा आयाको र शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ । यस सन्दर्भमा संस्कृतको एउटा श्लोक सटिक लाग्छ- ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरु:’ । अर्थात् संसारमा विद्या जस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरु हुँदैनन् । वास्तवमा शिक्षा मनोविज्ञानले पनि यो कुरा को पुष्टी गर्छ । बालबालिकाले गर्भावस्थादेखि जन्मसम्म धेरैकुरा आमाबाट नै सिक्छन् । बालिकाको विकासमा पहिलो र सबभन्दा बढी प्रभाव आमा कै हुन्छ । यहाँ महाभारतको एउटा घटना स्मरण गर्न चाहन्छु । एक दिन अर्जुनले आफ्ना श्रीमती सुभद्रा- जो श्रीकृष्णकी साख्खै बहिनी पनि हुन्- लाई युद्धमा चक्रव्यूह निर्माण र त्यसको भेदन सम्बन्धी ज्ञानबारे जानकारी गराइरहेका थिए । त्यतिबेला सुभद्रा गर्भवती थिइन् र गर्भावस्थामा रहेका उनीहरूका वीर पुत्र अभिमन्युले चक्रव्यूह सम्बन्धी ज्ञान त्यहींबाट प्राप्त गरेको भनाइ छ । यसरी अभिमन्युले चक्रव्यूह तोड्ने कलाको ज्ञान अर्जुनको मुखबाट सुने पनि त्यो कुरा आमाको संस्कार र व्यवहारबाट सम्भव भएको पुष्टि हुन्छ । यसक्रममा आमा निदाउँदा अर्जुनले भनेको चक्रव्यूह भेदन सम्बन्धी अन्तिम भेउ अभिमन्युले सिक्न पाएनन् । अभिमन्युको चक्रव्यूह भेदन सम्बन्धी ज्ञान अधुरो रह्यो र त्यसको अनपेक्षित परिणाम उनले युद्धमा भोग्नु पर्‍यो । यसबाट पनि नारी शिक्षाको महत्त्व र सान्दर्भिकता अनुमान मदत पुग्छ ।

मेरो अध्ययन तथा शोध

बालबालिकाले आफ्नो प्रारम्भिक ज्ञान आमाबाट सिक्ने र त्यो नै जीवनको स्थायी आधार बन्ने कुरामा प्रायः सबै सहमत देखिन्छन् । नारी शिक्षालाई पुरुष शिक्षा भन्दा कम महत्त्व दिंदा समाजको रूपान्तरणमा ठूलो अवरोध उत्पन्न हुने कुरामा कुनै द्विविधा छैन । घरेलु हिंसाबाट निजात पाउन र महिला विभेदलाई समाप्त पार्न नारी शिक्षाको महत्त्वपूर्ण योगदान रहन्छ ।  बालबालिकाको हरेक प्रगतिमा साथ दिने आमाको शिक्षाको अवस्थाले भविष्यमा बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित हुनेकुरामा कुनै द्विविधा मान्नु पर्दैन ।

‘बालबालिकाहरूले बीचैमा विद्यालय किन छाड्छन् ?’ भन्ने मुख्य प्रश्न राखी केही वर्ष पहिले मैले एउटा अनुसन्धान गरेको थिए, जसमा गरीबी, असहज विद्यालय वातावरण जस्ता महत्त्वपूर्ण कारकतत्वहरू फेला परेका थिए । यस अतिरिक्त अर्को महत्त्वपूर्ण करक तत्त्व अभिभावकीय शिक्षा, त्यसमा पनि आमाको शैक्षिक अवस्था बालबालिकाले बीचमै पढाइ छाड्नुको एउटा महत्वपूर्ण कारणको रुपमा देखा परेको थियो । त्यस क्रममा विद्यालय परित्याग गरेको बालबालिकाको कुल ४३० घरधुरीको सर्वेक्षण गरिएको थियो जसमा लगभग ८८ प्रतिशत आमा र ७६ प्रतिशत घरपरिवारका बुवा निरक्षर थिए । यस तथ्यांकले के निचोड निकाल्न मद्दत गरेको थियो भने पिछडिएको वा विपन्न समुदायका बालबालिकाहरु शिक्षाबाट वञ्चित हुनाको मुख्य कारकतत्व आमाको निरक्षरता हो । जुन घरमा आमा साक्षर वा शिक्षित छन् त्यस्ता घरपरिवारका बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता प्रदान गर्दा रहेछन् । निरक्षर आमाले शिक्षाको मूल्य तथा महत्त्वलाई आत्मसात् गर्न नसकेर आफ्ना बालबालिकाको पढाइलाई निरन्तरता दिन आवश्यक भूमिका खेल्न नसक्दा रहेछन् । त्यसैले नारी शिक्षालाई विशेष प्राथमिक्ता साथ अगाडि बढायौं भने समाज सामाजिक र आर्थिक रूपान्तरणतिर अग्रसर हुन्छ । यदि आमा नै शिक्षित भएनन् भने उनीहरु आफ्नो परिवार मात्र होइन छरछिमेकीलाई समेत अँध्यारोबाट डोर्‍याउन असफल हुन्छन् ।

नेपालमा नारी/महिला शिक्षाको स्थिति

पुरुष प्रधान समाजका कारण नेपालमा पनि प्राचीनकालदेखि महिलाहरूको शिक्षा र रोजगारीमा समान अवसरको समस्या रहँदै आएको छ । शुरू-शुरूमा रूढीवादी सांस्कृतिक दृष्टिकोणका कारण छोरीलाई स्कूल पठाउन अनुमति दिइँदैनथ्यो । समाज जागृत हुन थाले पछि विस्तारै छोरीलाई पनि स्कूल पठाउनुपर्छ भन्ने चेत पलाउन थाल्यो । यसबाट शुरू शुरूमा नेपालको शहरी क्षेत्रमा छात्राका लागि छुट्टै स्कूल र कलेज खुले । महिला शिक्षालाई अगाडि बढाउन सरकारले कानूनको पनि निर्माण गर्‍यो । हाल नेपालको संविधानले विभिन्न मौलिक हकमध्ये महिलाको हकमा भनिएको छ- ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ।’


विद्यालय परित्याग गरेको बालबालिकाको कुल ४३० घरधुरीको सर्वेक्षण गरिएको थियो जसमा लगभग ८८ प्रतिशत आमा र ७६ प्रतिशत घरपरिवारका बुवा निरक्षर थिए । यस तथ्यांकले के निचोड निकाल्न मद्दत गरेको थियो भने पिछडिएको वा विपन्न समुदायका बालबालिकाहरु शिक्षाबाट वञ्चित हुनाको मुख्य कारकतत्व आमाको निरक्षरता हो । जुन घरमा आमा साक्षर वा शिक्षित छन् त्यस्ता घरपरिवारका बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता प्रदान गर्दा रहेछन् ।

नेपालमा महिला-शिक्षाको स्थितिलाई झल्काउने केही सूचकहरुलाई ध्यानमा राखेर विश्लेषण गर्ने हो भने सकारात्मक र नकारात्मक दुवै खाले सन्देश भेटिन्छ । नेपालमा महिलाहरूको शिक्षाको स्थितिलाई देखाउन केही सूचकहरू तालिका १ मा प्रस्तुत गरिएको छ ।

नेपालमा स्कूल शिक्षामा छात्र र छात्राको भर्नाको स्थितिलाई दर्शाउने लैंगिक समता सूचकांक (Gender Parity Index, GPI) मा छात्राहरूको स्थिति राम्रो देखिन्छ । त्यस्तै कक्षा-८ सम्म पढाइमा रहिरहने दर (Survival rate at grade 8)मा पनि छात्र भन्दा छात्राको स्थिति राम्रो रहेको छ । ‘नासा’ (NASA) प्रतिवेदन अनुसार कक्षा-८ छात्रहरूको सिकाइ उपलब्धि लगभग छात्र सरह नै रहेको छ । यद्यपि, समग्रमा विद्यालय तहको सिकाइ उपलब्धी न्यून रहेको छ । महिला शिक्षाको सन्दर्भमा यी सबै पक्षलाई सकारात्मक मान्न सकिन्छ । तर समग्रमा प्रौढ उमेरका नेपाली महिलाको साक्षरता स्थिति हेर्ने हो भने पुरुष भन्दा महिला धेरै पछाडि रहेको पाइन्छ । विद्यालयमा पुरुष शिक्षक भन्दा महिला शिक्षकको उपस्थिति निकै कमजोर छ । यसमा पनि माध्यमिक तहमा पुरुष भन्दा महिला शिक्षकको उपस्थिति निकै कमजोर  छ।

स्कूलमा शिक्षकहरूको लैंगिक स्थिति

नेपालको महिला शिक्षामा हुने एउटा आधारभूत विभेद भनेको केटा र केटीको स्कूल छनोटमा देखिने भिन्नता हो । विद्यालय तहमा कूल भर्नामा संस्थागत या निजी विद्यालयमा केटीहरूको भर्ना दर कम देखिन्छ । अर्थात् केटीहरूको भर्ना तुलनात्मक रूपमा सामुदायिक स्कूलमा बढी छ । यसले अभिभावकमा केटीभन्दा केटामा बढी खर्च गर्ने चलन छ । यो केटा र केटीको शिक्षामा गरिने ठूलो विभेद हो ।

सामुदायिक स्कूलमा विद्यार्थी भर्नाको लैंगिक स्थिति

विद्यालय बाहिर रहेको केटकेटीको स्थितिलाई हेर्ने हो भने केटा भन्दा केटीहरू नै विद्यालय बाहिर रहेको अवस्था अत्यधिक छ।

उपसंहार  

हालका वर्षहरूमा आम मानिसमा छोरीलाई स्कूल पठाउनु पर्छ भन्ने चेतनामा वृद्धि भएको देखिन्छ । तर गरीब, पिछडिएका समुदाय, दलित-खासगरी तराई-दलित र पिछडिएका क्षेत्रमा गुणस्तरीय शिक्षाको अवसरमा समस्या रहेको प्रष्ट देखिन्छ । यस्ता क्षेत्र र वर्गका लागि महिला शिक्षाको विकासमा विभिन्न तहका सरकारको ध्यान जानु अति आवश्यक छ । अर्को महत्त्वपूर्ण कुरा भनेको अभिभावक शिक्षालाई अगाडि बढाउन सरकारको विशेष योजना मार्फत् शिक्षामा लगानी वृद्धि गर्नुपर्छ । यसमा पनि आमाहरुको साक्षरता र शिक्षा माथि विशेष जोड दिनु पर्छ । शिक्षामा समावेशिता मुद्दामा महिला पनि महत्त्वपूर्ण पक्ष भएकोले सरकारले समावेशी शिक्षाको कार्यक्रमलाई महत्व दिनु जरूरी छ ।   

(शिक्षक मासिक र स्टोरी किचनको सहकार्य) श्राेत शिक्षक मासिक


सम्बन्धित समाचार