१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ ।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रको समग्र सुधारका लागि २१८ अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको घोषणा गरेका छन् । गुणस्तरीय शिक्षाको पहुँच विस्तार र शैक्षिक पूर्वाधारको विकासमा यो बजेट केन्द्रित हुनेछ ।
त्यसैगरी, खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न सरकारले ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमार्फत सरकारले खेलकुद क्षेत्रमा एउटा महत्वपूर्ण र स्वागतयोग्य घोषणा गरेको छ– अब अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूले अवकाशपछि पनि सम्मानजनक जीवनयापन गर्न पाउने गरी आजीवन स्वास्थ्य उपचारको सुविधा पाउनेछन् ।
शिक्षामा ठूलो लगानी र खेलकुदमा खेलाडीको भविष्य सुनिश्चित गर्ने सरकारको यो नीतिले युवा पुस्तालाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।




















