८ साउन, वीरगञ्ज । जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण पर्साको पर्सागढी नगरपालिका वडा नं. ६ को वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा तथा सिफारिसका काम विगत करिब तीन महिनादेखि ठप्प बनेको छ । सरकारी सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि आजित बनेका स्थानीयवासीले समस्या समाधानका लागि स्वतःस्फूर्त सक्रिय पहल थालेका छन् ।
बिहीबार पूर्व वडा सदस्य तथा समाजसेवी अर्जुन प्रसाद गिरीको अध्यक्षतामा स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा नागरिक समाजको संयुक्त बैठक बसी सेवा सुचारु गराउन दबाबमूलक कार्यक्रम घोषणा गरिएको हो ।
बैठकले वडा कार्यालयबाट उपलब्ध हुने सेवा-सुविधा, व्यक्तिगत घटना दर्ता तथा विभिन्न सिफारिसलगायतका सम्पूर्ण कार्य ठप्प हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको र नागरिकका आधारभूत अधिकार नै खोसिएको निष्कर्ष निकालेको छ ।
सेवा अवरुद्ध हुनुको मुख्य कारण पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक र वडा नं. ६ का वडा अध्यक्ष नवलकिशोर प्रसाद कलवारबिचको आन्तरिक खिचातानी एवं प्रशासनिक विवाद रहेको बैठकले ठहर गरेको छ। जनप्रतिनिधिको जुहारीका कारण आम सर्वसाधारण अनाहकमा पछाडि पारिएको स्थानीयको भनाइ छ।
समस्या समाधानका लागि आगामी साउन ११ गते सोमबार पर्सागढी नगरपालिकाको कार्यालयमा बृहत् डेलिगेसन जाने निर्णय बैठकले गरेको छ । सो दिन बिहान ११ बजे वडाका समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरू नगरपालिकामा भेला भई नगर प्रमुखसँग प्रत्यक्ष वार्ता गर्ने र तत्काल सेवा सुचारु गर्न अल्टिमेटम दिने तयारी छ ।
यसै गरी, वडाको सेवा सञ्चालनका लागि नगरपालिकासँगै जिल्ला प्रशासन कार्यालय पर्सा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ । स्थानीयले दबाबका बाबजुद पनि सेवा सुचारु नभए थप सशक्त आन्दोलनका कार्यक्रम आघि बढाउने चेतावनी दिएका छन् ।




















