८ साउन, वीरगञ्ज । सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य अब कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित वातावरण र उद्योगसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभापति अन्सारीले उद्योगी-व्यवसायीहरूलाई वातावरणीय मापदण्डको पूर्ण पालना गर्न र प्रदूषण नियन्त्रणमा गम्भीर बन्न आग्रह गरे । नागरिकको जनस्वास्थ्य र वातावरणीय सुरक्षाका विषयमा राज्यले कुनै पनि किसिमको सम्झौता नगर्ने उनको स्पष्ट भनाइ थियो ।
सो अवसरमा सांसद अन्सारीले पथलैयादेखि लालका पुलसम्मको क्षेत्रमा ‘औद्योगिक ड्रेन’ निर्माण गर्ने तथा साझा फोहर पानी प्रशोधन केन्द्र (Common Effluent Treatment Plant) स्थापनाको तयारी भइरहेको जानकारी दिए ।
योजनाअनुसार उद्योगहरूले आफ्नो तर्फबाट हुनुपर्ने प्रारम्भिक र प्राथमिक प्रशोधन अनिवार्य रूपमा आफैँ गर्नुपर्नेछ। त्यसपछिको दोस्रो चरणको प्रशोधनको जिम्मेवारी भने राज्यले लिने गरी कार्यढाँचा तयार पारिएको उनले बताए ।
विशेष गरी सिमरा तथा आसपासका क्षेत्रमा बिहानको समयमा अत्यधिक वायु प्रदूषण हुने गरेको, कोइला तथा भुसको खुला प्रयोग बढेको र ऐतिहासिक सिर्सिया नदी दिनानुदिन प्रदूषित एवं अतिक्रमित हुँदै गएकोप्रति समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यी समस्या समाधानका लागि संसदीय समितिले छिट्टै कडा र कठोर कदम चाल्ने प्रतिबद्धता सभापति अन्सारीले व्यक्त गरे । छलफल कार्यक्रममा वीरगन्ज-पथलैया करिडोरका उद्योगी, व्यवसायी, वातावरणविद् तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।




















