१९ जेठ, काठमाडमौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति र त्यसको बचाउमा लागिरहेका सांसदहरूप्रति कडा टिप्पणी गरेकी छिन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले केही सांसदहरूले ‘व्यक्ति पूजा’ गर्ने क्रममा आफ्नो देशको सार्वभौमिकतालाई नै दाउमा राखेको आरोप लगाइन् । उनले भनिन्, ‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि छोड्दैनौँ भन्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको छ कि भनी प्रमाण खोज्दै हिँडिरहेका छन् ।’
प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य वा विषयान्तर गर्न मिल्ने खालको नभई राष्ट्रिय सुरक्षा र कूटनीतिक दृष्टिले अत्यन्त गम्भीर भएको ओलीको भनाइ छ। प्रधानमन्त्री व्यक्ति नभएर एउटा संस्था भएको स्मरण गराउँदै उनले राजकीय संस्थाबाट आएको यस्तो फितलो भाष्यले राष्ट्रिय सङ्कट निम्त्याउने जोखिम औँल्याइन् । सार्वजनिक पदमा रहेका व्यक्तिहरूले भाषाको प्रयोग गर्दा विशेष सावधानी र कूटनीतिक परिपक्वता देखाउनुपर्नेमा उनले जोड दिइन् ।
नेता वा व्यक्तिको पूजा गर्ने प्रवृत्ति खतरनाक रहेको उल्लेख गर्दै ओलीले राष्ट्रिय स्वाभिमान र सीमा विवाद जस्ता संवेदनशील विषयमा संसद्को गरिमा उच्च राख्न सांसदहरूलाई आग्रह गरिन्। ‘नेताको एउटा अभिव्यक्तिलाई जोगाउन आफ्नो राष्ट्रको दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन,’ उनले स्पष्ट पारिन् । एकदिन आफ्नो नेता बचाउने नाममा देशको पक्ष छाडेको कुरा इतिहासमा रहने भन्दै उनले यस्ता गतिविधि बन्द गर्न सम्पूर्ण सदनको ध्यानाकर्षण गराइन् ।




















