Logo

१७ मंसिर, वीरगञ्ज । मानव सेवा आश्रमको भवन निर्माणका लागि शुरु गरिएको सांगितिक यात्रा मंसिर १९ गते सोमबार वीरगन्जमा हुने भएको छ । शुक्रबार विराटनगरबाट शुरु गरिएको मानवता प्रवद्र्धनका लागि सांगितिक यात्रामा नेपालको चर्चित व्याण्ड नेपथ्यले प्रस्तुति गर्नेछ ।

वीरगन्जको आदर्शनगर रंगशालामा मंसिर १९ गते सोमबार अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म सांगितिक प्रस्तुती रहने मानव सेवा आश्रमले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

सांगितिक प्रस्तुतीका लागि नेपथ्य व्याण्ड वीरगन्जमा आईपुगेको र तयारी तीब्र भईरहेको सांगितिक कार्यक्रमका संयोजक गणेश लाठले बताए । विगतमा आयोजना भएका सांगितिक कार्यक्रमहरुमा सधैं तनाव हुने गरेकोले वीरगन्जले नकारात्मक पहिचान स्थापित गरेको भन्दै यसपटकको सांगितिक प्रस्तुतीले ती नकारात्मक पहिचानलाई तोड्ने अवसर र चुनौती दुवै रहेको लाठको भनाई छ ।

विशुद्ध मानवीय सेवाको लागि आयोजना गरिएको कार्यक्रम भएको हुँदा सबैले त्यहीँ अनुसार बुझेर कार्यक्रमलाई सफल पार्नेमा आफू विश्वस्त रहेको पनि लाठले बताए ।

सहयोग स्वरुप एकहजार दरको टिकटको व्यावस्था गरिएको जानकारी दिदै अहिले सोचे अनुसारको टिकट विक्री नभएपनि कार्यक्रम आयोजना हुने दिनमा टिकट विक्री बढ्नेमा आशावादी रहेको मानव सेवा आश्रमका संरक्षक प्राध्यापक डाक्टर दीपक शाक्यले बताए ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शाक्य, लाठ सहित शिवजी गुप्ता, मिनाक्षी गुप्ता, प्रकाश थारु लगायतको पनि उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार