२५ कात्तिक,काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको स्वास्थ्य अवस्थाबारे विभिन्न अफवाह फैलिइरहेका बेला परिवारले उहाँको स्वास्थ्य स्थिर रहेको जानकारी दिएको छ।
८९ वर्षीय धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या आएपछि हिजो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। आज बिहान भारतीय सञ्चारमाध्यमका केही प्लेटफर्महरूले उहाँको निधन भएको दाबी गर्दै समाचार प्रसारण गरेपछि सामाजिक सञ्जालमा व्यापक भ्रम फैलिएको थियो।
तर धर्मेन्द्रकी छोरी ईशा देओलले उक्त समाचार पूर्णतः असत्य भएको बताउँदै सामाजिक सञ्जालमार्फत “बुबाको स्वास्थ्य स्थिर छ, कृपया अफवाह नफैलाऔं” भन्दै आग्रह गर्नुभएको छ।
त्यस्तै धर्मेन्द्रकी पत्नी र अभिनेत्री हेमा मालिनीले पनि बयान दिँदै भनिन्, “धर्मेन्द्र अहिले डाक्टरको निगरानीमा छन्। उहाँको अवस्था स्थिर छ र चिकित्सक टोली लगातार निगरानीमा छ।”
यसअघि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले समेत ट्वीटर ९एक्स० मा धर्मेन्द्रको निधनप्रति समवेदना प्रकट गर्नुभएको थियो, तर पछि उहाँले आफ्नो ट्वीट हटाउनुभएको छ।
धर्मेन्द्र पछिल्ला वर्षहरूमा स्वास्थ्य समस्या र उमेरजन्य कारणले सार्वजनिक कार्यक्रममा कम देखिँदै आएका छन्। उहाँ बलिउडका प्रसिद्ध अभिनेता, निर्माता तथा राजनीतिज्ञ समेत रहिसक्नुभएको छ।




















