Logo

९ कात्तिक,वीरगञ्ज । वीरगञ्जका पत्रकार मनोज पटेलको शब्द र स्वरमा तयार गरिएको छठीमाईको भोजपुरी गीत सार्वजनिक गरिएको छ। गीत नेपाल पोस्ट मिडिया प्रा.लि.को युट्युब च्यानल ‘नेपाल पोस्ट डेली’ मार्फत शनिबार साँझ सार्वजनिक गरिएको हो।

नेपाल पोस्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक तथा भिडियो निर्देशक सन्तोष साहका अनुसार पत्रकार पटेलले गीतका शब्द लेख्नुका साथै स्वर पनि दिएका हुन्। उनले गीत सुमधुर बनेको र दर्शक–श्रोता बीच सकारात्मक प्रतिक्रिया आइरहेको जानकारी दिए।

गीतको म्युजिक भिडियो वीरगञ्जको घडिअर्वा पोखरी र कलैयास्थित सिदेश्वर माध्यमिक विद्यालय परिसरको पोखरी (छठी घाट) लगायतका स्थानमा छायांकन गरिएको छ।
पत्रकारितासँगै गायनमा पनि रुचि राख्ने पत्रकार पटेलले गीत सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा उल्लेखनीय प्रतिक्रिया पाइरहेको बताए। गीतमा सूर्य देवलाई छठी व्रती महिलाहरूको तर्फबाट छिटो उदाउन अनुरोध गरिएको सन्देश समेटिएको छ।

म्युजिक भिडियोमा पत्रकार बिनोद पटेल, बबिता पटेल, सन्ध्या साह, अमिता पटेल र मनोज पटेल स्वयंले अभिनय गरेका छन्। भिडियो नेपाल पोस्ट मिडिया प्रा.लि.का अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि हेर्न सकिन्छ।
गीत हेरेपछि नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष भुषण यादवले पत्रकारहरूले तयार पारेको छठीमाताको गीत र म्युजिक भिडियो अत्यन्त मन परेको प्रतिक्रिया दिएका छन्।


सम्बन्धित समाचार