Logo

७ चैत्र, बारा । चैत्र ९ गते देखि बाराको सिमरामा हुने मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिताको १३ औँ संशकरणलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको छ । रंगशालामा आज मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ ।आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाए ।

लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमले सहभागिता जनाउने निश्चित भएको छ ।साविक विजेता न्युरोड कर्नर टिम (एनआरटी), उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाईज, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, मोफसलका वीरगन्ज युनाइडेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, केबीए ग्लोबल चितवन र आयोजकले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

चैत्र १८ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र चितवनबीच हुने भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्र्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।

विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् भने उदयीमान खेलाडीले नगद १५ हजार पाउनेछन् ।

प्रतियोगिताको सम्पूणर् खेल फ्लड लाईटमा हुनेछन् । पछिल्लो दुई वर्षदेखि सिमरा रंगशालामा रात्री समयमा खेल भईरहेको छ । गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाईटमा खेल संचालन गर्न थालेको हो ।रात्रीको समयमा खेल हुँदा दर्शकको बाक्लो उपस्थिती हुँदै आएको छ । आयोजकले प्रतियोगिता संचालन गर्न अनुमानित एक करोड ६ लाख रुपैया खर्च हुने जनाएको छ ।


सम्बन्धित समाचार