Logo

१६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहोर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहोर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरले अब जरिवानासँगै फोहोर फ्याल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको हो । जथाभावी फोहोर फाल्नेसँग महानगरले ०७९ साल पुष १७ गतेदेखि जरिवाना तिराउदैँ आएको छ ।

महानगरका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जरिवाना गर्दा जथाभावी फोहोर फाल्न केही कम भएपनि अपेक्षित रुपमा भने नघटेको बताउनुभयो । सोही बमोजिम अब फोहोर फाल्नेलाई जरिवाना मात्रै नभई सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उहाँको भनाई छ ।

महानगरलाई स्वच्छ, सफा हराभरा बनाउन सुरु गरिएको अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाईएको मियाँले जानकारी दिनुभयो । आर्थिक नगरीको रुपमा परिचित वीरगञ्ज महानगरको पर्यटन प्रवद्धनका लागि नगरक्षेत्रको सरसफाईलाई उच्च प्राथमिकतामा राखेर काम थालेको नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।


सम्बन्धित समाचार